वामपन्थी नेताका नजरमा ‘प्रदीप गिरि’


काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गरेका छन् ।

उनीहरूले गिरिलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक मूल्य, मान्यतामा अडिग राजनीतिक व्यक्तित्वका रूपमा सदासर्वदा सम्झिरहने धारणा व्यक्त गरेका छन् ।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वैचारिक राम्रो अध्ययन भएको लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्ने राजनीतिज्ञका रूपमा आफूले नेता गिरिलाई लिने गरेको बताए ।

उनले भने, ‘उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध थियो, सदासर्वदा हामीबीच सम्पर्क र सम्बन्ध रह्यो । संसद्मा पनि उहाँको प्रस्तुति निकै राम्रो हुन्थ्यो। कसैप्रति पूर्वाग्रह नराख्ने सबैसँग मूल्य र मान्यताका आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने गिरि लोकतान्त्रिक आन्दोलनको योद्धा हो ।’

उनको असामयिक निधनले ठूलो क्षति भएको भएको जनाउँदै पूर्वसभामुख नेम्वाङले थपे, ‘असहमतिका विषय पनि छयाङ्ग भन्ने सादगी र साह्रै मिलनसार हुनुहुन्थ्याे । नेपालका राजनीतिज्ञले उहाँको सादा जीवनशैली, जतिबेला पनि अध्ययनमै डुबिरहने शैलीबाट सिक्नुपर्छ ।’

नेम्वाङले अगाडि भने, ‘प्रदीपजी बोल्ने भनेपछि संसद्मा सुन्न बस्नेको सङ्ख्या ठूलो हुन्थ्यो, त्यो उहाँले कमाएको ठूलो सम्पत्ति र सम्मान हो।’ दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिक क्षेत्रको विश्लेणषसम्बन्धी विशेषज्ञता हासिल गर्नुएका गिरिको गएराति उपचारका क्रममा निधन भएको हो।

नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीले दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरिले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको बताए।

उनले भने, ‘गिरिमा भौतिक सुख भोग, बिलासी, ऐसआरामभन्दा ज्ञानको भोक बढी थियो। जीवनभर कांग्रेस रहे तापनि कार्लमाक्र्स र लेनिन बौद्धिकताप्रति काविल हुनुहुन्थ्यो। आलोचनात्मक रूपमा विषयवस्तु बुझ्ने प्रदीपजीको सबैभन्दा राम्रो गुण हो।’

उनले गिरि कसैप्रति अन्धधुन्ध समर्थक नभएको, मार्क्स, गन्धी, राममनोहर लोहिया, जयप्रकाश नारायण र बीपी कोइरालाप्रतिको दृष्टिकोणसमेत सम्मानजनक र आलोचनात्मक राख्ने माथिल्लो स्तरको व्यक्ति भएको बताए।

नेता कार्कीले भने, ‘गिरि आलोचनात्मक दृष्टिकोण भएको प्रजातन्त्रवादी र मानवतावादी चिन्तक हुनुहुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस
Advertisement