सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु


काठमाण्डु – कैलाली र कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढितोलास्थित सडकमा सुप प्र ०२–००१ ख १२८७ नम्बरको बस र सुप प्र ०१–०११ प ९४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने ५५ वर्षीय पुर्ण बहादुर ऐरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित सडकमा लु४त १६४५ नम्बरको ट्रयाक्टरको ट्रलीबाट लडेर ट्रयाक्टरमा मजदुरी गर्ने शिवराज नगरपालिका–१ वनकट्टी बस्ने १६ वर्षीय रमेश थारूको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement