एनटिएनसीका योग्यता नपुगेका सदस्य सचिव अधिकारीले अन्ततः दिए पदबाट राजिनामा


काठमाण्डु – राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले पदबाट राजिनामा दिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले अधिकारीसंग कोषको सदस्य सचिव हुने योग्यता नपुगेको भन्दै नियुक्ती नै गैरकानुनी भएको ठहर गरेको थियो ।

उनिविरुद्ध केन्द्रमा परेको उजुरीमाथि अनुसन्धान गर्दै सतर्कताले कारकावाहीका लागि पत्राचार गरेको थियो । अधिकारीको मनोनयनको प्रक्रिया नपुगेको र नियुक्ति गर्दा पालना गर्नुपर्ने कार्यविधि पनि पालना नभएको सतर्कताको दावी थियो ।

सतर्कतको पत्रअनुसार अधिकारी पदमुक्त हुनुपर्ने भएपनि उनि त्यसलाई रोक्न विभिन्न शक्तिकेन्द्र पुगेका थिए । उनले वनमन्त्रीका छोरालाई भेटेर समेत पदमा कायम रहन प्रयास गरेको स्रोतले बतायो ।

सदस्य सचिव अधिकारीले पदबाट राजिनामा नदिएपछि कोषका कर्मचारीले उनिविरुद्ध चरणबद्ध आन्दोलन नै सुरु गरेका थिए । कर्मचारीहरुले विभिन्न मागहरु राखेर आन्दोलन गरेपछि उनले अन्ततः सोमबार पदबाट राजिनामा दिएका हुन् ।

सतर्कता केन्द्रले यसरी सदस्य सचिव नै बर्खास्त गर्न सिफारिस गरेको यो पहिलो घटना हो । उनि ३ पुस २०७७ मा ५ वर्षका लागि कोषको सदस्य सचिव नियुक्त भएका थिए । अधिकारी कोषमा आएदेखि नै संस्थाको छवि धुमलिंदै गएको गुनासो सरोकारवालाको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement