तिहार त फेरी आयो तर, मेरी दिदी कहिल्यै नआउने गरी गइन


प्रकाश बस्याल

घरको आगनमा ढकमक्क मखमली र सयपत्री फुल फुलेका छन् । आज गाइतिहार भोली भाईटिका तर, दिदि तिमी बिनाको तिहार मनाउन मन मानिरहेको छैन् । ठ्याक्कै एक बर्ष पुरा भएछ तिमीले यो संसार छोडेर परलोक भएको । तर, मेरो मनले तिम्रो मृत्युलाई अझैपनि स्वीकार गर्न सकिरहेको छैन् ।

म आफैंले तिम्रो शरीरलाई दागबत्ती दिएर खरानी बनाएर नदिमा बगाउँदा पनि खैँ किन तिमी हामी माझ छैनौं भनेर आफैंले पत्याउन सकिरहेको छैन् । गत वर्ष तिम्रै हातले रोपेका सयपत्री मेरो गलामा पहिराउन नपाई तिमी यो लोकबाट बिदा भयौ दिदि । तिम्रो महाप्रस्तानपछि त सबैकुरा खल्लो छ । जाने गएपनि बाँच्नेहरुलाई मनबुझाउन धेरै गाह्रो हुँदोरहेछ । अहिले पनि भाईटिका आईसक्यो आगनमा मखमली र सयपत्री फक्रिसके ।

मौसम उस्तै छ । पहिला तिमी संगै हुन्थ्यौ बस अहिले तिमी मात्र छैनौं । तिमीबाहेक सबै उस्तै हुदा पनि तिमी किन खास छौ दिदी ? नाताले दिदी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिइन मेरी दिदी राधा । हामी दिदी भाईको मित्रता देखेर सायदै जो कोहीले पनि डाहा गर्थे । दिदी भाई भन्दा बढी मिल्ने साथी थियौं हामी ।

सरसल्लाह देखी साथीभाई पनि हाम्रा प्रायः उहिनै हुन्थे । मेरा साथी दिदीका पनि साथी दिदीका साथी मेरा पनि साथी । अरु दुई दिदीको बिवाह भइसकेकाले पनि ममी र बुबाका हामी दुई जना बढी प्यारा थियौँ । म काठमाण्डुबाट घर जाँदा साथीहरुसंग घुम्ने जानेदेखि लिएर हरेक कुराहरु सेयर हुन्थे ।

ममिले पनि भन्ने गर्नुहुन्थ्यो तिमीहरु दिदी भाई हिँडेपछि घर नै बिर्सन्छौ । साँच्ची कमला दिदी, प्रेम दाई, कल्पना, मिना, म राधा दिदी भएर गफ गर्न थालेपछि घर नै बिर्सन्थ्यौं कति रमाइला थिए ति पलहरु । तर, एकाएक हाम्रो सुन्दर घर दैवले खरानी बनाईदियो । मेरो तिहार दैवले लुट्यो । सायद मेरो दिदीको बिहे नगरीदिएको भए हाम्रो परिवारको खुसी हामी संगैँ हुन्थ्यो होला ।

मेरो नजरमा भिनाजु नै हत्यारा हो

श्रीमान अस्मिन भट्टराईको कुटाईको पिडा निको नभएपछि अस्पताल पुगेकी मेरी दिदी राधालाई अस्पतालले एक महिनाको मात्र समय दियो । जन्मेदेखी एउटा सिटामोलसम्म नखाएकी दिदीलाई चिकित्सकहरुले मृत्युको मिती नै तोकिँदा कति पीडा भयो होला, त्यो शब्दमा व्यक्त गर्न कठिन छ । काठमाण्डुको न्यूरोडमा रहेको हनुमान ढोका सहकारीका ब्यवस्थापक अस्मिन भट्टराईसँग लगनगाँठो कसिएपछि दिदीका सबै सुख र खुसीहरु च्याँपिदै र साँघुरिँदै गए । मेरो परिवारका सबै सदस्यले केटालाई स्वीकारेका थिए ।

हजुरबुबा, हजुरआमा, बुवाआमा, दिदीभिनाजु सबैले केटा हेर्दा खाइलाग्दो, काठमाण्डुको हनुमान ढोका बहुउदेश्यीय सहकारी संस्था न्यूरोड पशुपति प्लाजामा व्यवस्थापकको काम गर्ने । यत्तिको सक्षम केटासँग राधाको जिन्दगी सहज हुन्छ भन्ने सबैको अपेक्षा थियो । आफन्तसँग केटी हेर्न आएका अस्मिनले पनि केटी मन पराए ।

केटा–केटीको चित्त बुझेपछि विवाह संस्कार सुरु हुनु पूर्व गरीने जनैसुपारी अगाडि फेरि हाम्रो हजुरबुबाले पटक पटक केटालाई सोध्नुभयो ‘केटी मन नपरेको भए, बिहे गर्न मन नभए समयमै भन्नु है बाबु, पछि अप्ठ्यारो परे नराम्रो हुन्छ ।’ तर, अस्मिनले पटक–पटक मन परेर आफूखुसी बिहे गर्न लागेको बताइरहे ।

मेरो हजुरबुबाले १० चोटी सोध्नुभएकै हो जुन आज मेरो मनमा गडिरहेको छ । मैले मेरो दिदी त गुमाइसकें तर, ति शब्दहरु मेरो मानसपटलबाट कहिले हट्ने छैनन् ।

२०७४ फागुन २९ गते जनै सुपारी गरेर ३० गते स्थानीय मन्दिरबाट बिहेवारि सकियो । बिहे लगत्तै राधालाई पनि लिएर उनी काठमाण्डु हानिए । बिहे गरेकै केही दिनपछि अस्मिनको असली रूप राधाले थाहा पाइन् । राधालाई बुवाआमाको करमा बिहे गरेको भन्दै मानसिक र शारीरिक रूपमा चरम यातना दिन थालेछ अस्मिनले ।

श्रीमानको कुटाईबाट थला परेकी मेरी दिदी राधा विसन्चो भएपछि अस्पताल पुगीन्, उनलाई छाती (स्तन)मा दुख्थ्यो । अस्मिनले राधाको छातिमा दिनहुँ लात्ति प्रहार गर्ने गरेको दिदीबाट थाहा भयो ।

सुरुमा त कुटाइकै दुखाईको भन्ने महसुस भएको थियो तर, दुखाई सन्चो नभएपछि कान्तिपुर जनरल अस्पताल बसुन्धरामा एक पटक जचाँउने परिवारमा सल्लाह भयो । रेनुका दिदी त्यही काम गर्ने भएकाले पनि सहज हुन्छ भनेर हामीले त्यही जँचाउने निधो गरेका थियौं ।

राधाका श्रीमानलाई मैले सम्झाउने कोसीस नगरेको पनि होइन । बुवा आमा र घरपरिवारलाई थाहै नदिई किन सम्बन्धमा दरार आयो ? यदी मेरी दिदीको गल्ती भए के हो भन्नुस् भन्दा उनी सँधै मौन बस्ने गर्थे । दिदीलाई दिनहुँ चरम यातना दिने अस्मिनले उनको उपचारमा चासो देखाएनन् । तर, अस्मिनले राधाको उपचार गर्लान् भनेर हामीले सोचेका पनि थिएनौं । उनको बाटो कुर्नू भन्दा राधाको पीडा कम गर्नु हाम्रो मुख्य जिम्मेवारी थियो । अहिले यो लेख्दा मन काँपिरहेछराइरहेको छ । दिदीको बारेमा लेख्दै गर्दा, मेरो हात लग्लग् काँपीरहेछ ।

आज उनी यो संसारमा छैनन् तर, उनका याद र उनले सुनाएका र देखाएका घाउहरु मेरो मानसपटलमा अझै ताजै छ । पीडा असह्य भएपछि राधाले अस्मिनको परिवारमा सल्लाह गरीन् अनि हामीले उनलाई कान्तिपुर अस्पताल लिएर गयौं । पहिला सामान्य भनिएपनि स्तनमा देखिएका गिर्खा अपरेसन गर्नुपर्ने भयो ।

डाक्टरले अप्रेसन गरेपछि बायोप्सीका लागि पठाउनुपर्ने भन्नुभयो । बायोप्सी रिपोर्टमा राधालाई क्यान्सरको पुष्टि भयो । मेडिकल रिपोर्ट सुनेर हाम्रो परिवार छाँगाबाट खसेजस्तै भयो । हामीमाथि ठूलो पहाड खसेझैं भयो । हिजोसम्म स्वस्थ मान्छे विवाह गरेर गएको केही समयमा नै मृत्युसँगको लडाईँमा पौंडेजोरी खेल्दै थिइन् मेरी दिदी राधा । उनको त्यस्तो रिपोर्ट आउँदा पनि हामीलाई पत्यार लागेन ।

क्यान्सर भएको विश्वास नगरेका हामीले पुनः निक्र्यौल गर्न दिदीलाई उपचारका लागि भारतको दिल्ली लाने निर्णय गर्यौं । र त्यहाँ पनि जाँच गरियो तर नतिजा बद्लिएन, क्यान्सर चौथो स्टेजमा पुगिसकेको रहेछ । राधालाई दिल्ली लिएर जानुभएका बुवा मुर्छित हुनुभयो । बुवा सम्हालिँदै हुनुहुन्थ्यो, केही थाहा नपाएकी मेरी दिदी किमो सुरु गर्ने भन्नासाथ चिच्चाएर बुवालाई अंगालो हालेर रुँदै मरे पनि म आमाकै काखमा मर्छु भनेर रोइकराई गरिछन् ।

बुवाले दिदीलाई सम्झाउँदै किमो लगाएपछि निको हुने आश्वासन दिनुभयो । दिदी पनि किमो लगाउन राजी भई । त्यसपछि विगत दुई बर्षसम्म भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा तिन ÷तिन महिनामा फलोअप गर्ने क्रम चलिरहेको थियो । मेरी दिदी मृत्युको शैयामा छट्पटाइरहँदा यता सम्बन्ध विच्छेदको मुद्धा पनि चलिरहेको थियो । उपचार पश्चात पनि मेरी दिदी सम्बन्ध विच्छेदका लागि नवलपरासीदेखि काठमाण्डु धाइरहिन् ।

अदालतले अस्मिनकै नाममा स्टे अर्डर जारी पनि गर्यो तर, कार्यान्वयन भएन । उसले निरन्तर धम्क्याइ रह्यो । यता राधाले बिहेपछि नियमित गर्दै आएको पत्रकारितालाई बिट मारेकी थिइन् तर निरन्तर डाक्टरको सल्लाह र औषधि उपचारले राधा तंग्रदै पनि थिइन । त्यसबिचमा रोकिएको रेडियो पत्रकारीता फेरी सुरु गरीन् । यतिमात्र कहाँ हो र ? क्यान्सरको उपचारसँगसगै दिदीले नयाँ यात्रा पनि तय गरिन्, त्यो यात्रा थियो ‘महिला हिंसा विरुद्ध र क्यान्सरबारे सचेतना ।’

गाउँ – गाउँ महिला हिंसा विरुद्धको आवाज बुलन्द पार्दै क्यान्सरबारे राधा सचेतना जगाउँदै हिँड्न थालिन् । कहिले जनचेतनामुलक कार्यक्रम, कहिले अदालत, कहिले अस्पताल र श्रीमानले दिएको यातनाका कारण राधा शारीरिक रुपमा कमजोर हुनु स्वभाविकै थियो तर, उनको मानसिक अवस्था भने निकै बलियो थियो ।

अदालतको स्टे अर्डर नमान्ने अनि अस्मिनले प्रदेश सांसदकी श्रीमति र आफुलाई अभियान्ता भन्न रुचाउने इन्दीरा पन्तको समर्थनमा निकै दबाब दिन थाल्यो । इन्दीराले कावासोतीमै पुगेर अस्मिनलाई छोडिदेउ भन्दै दवाब दिन थालिन् । महिला हिंसा विरुद्ध बोल्नुपर्ने ठाउँमा इन्दिराले अपराधको साथ दिएकी थिइन् । आफु नेकपाको ठुलै नेता र बागमती प्रदेश सांसदको श्रीमति भन्ने परिचय दिएर जसरी पनि अस्मिनलाई छुट्कारा दिनुपर्ने बताएकी थिइन ।

अन्ततः राधाले अस्मिनलाई डिभोर्स दिइन्, त्यसपछि हामीले धेरै सपना बनाएका थियौं । राधाले संचालन गरेको राधा क्यान्सर सचेतना फाउन्डेसनलाई अगाडी बढाउने योजना बनाएका थियौ तर विश्वभर फैलिएको कोभिड महामारीका कारण नेपालमा पनि लकडाउन भयो ।

लकडाउनको समयमा सबै अस्पतालहरु बन्द भए । त्यही बेला राधालाई पेट दुख्ने र बान्ता हुने लक्षण देखियो, यो क्रम रोकीएन । काठमाण्डुका विभिन्न अस्पतालमा लगियो तर अन्तिम स्टेज भएकाले राधाको स्वास्थ्यमा सुधार हुन सकेन । अन्ततः गत वर्षको कात्तिक १४ गते मेरी प्यारी दिदीले हामी सबैलाई छाडेर यो संसारबाट बिदा भइन् । दिदीले मलाई छाड्दै गर्दा सयपत्री र मखमली फुलका कोपिला लाग्दै थिए ।

पापी दैवले मेरा लागि १५ दिन पनि कुर्न सकेन मेरी दिदीले मलाई अव कहिल्यै टिका नलगाइदिने गरी यमलोक प्रस्थान गरिन । उनको मृत्युपछि मभित्र कति पीडा परेको छ भन्ने कुरा लेख्न कठिन छ । तिहार फेरी आइसकेछ । तर, मेरी दिदी कहिल्यै नआउने भइन् । मिल्ने भए बर्षमा एक पटकमात्रै भेटेपनि अंगालो हालेर चिच्चायरै दिदीसंग मनभरीका पीडा सुनाउने धोको छ । तिमी बिनाको तिहार मनाउन मन मानिरहेको छैन दिदी ।

प्रतिक्रिया दिनुहोस
Advertisement