जनस्वास्थ्यमाथि ‘वाइ वाइ’ चाउचाउको खेलवाड ! उपभोक्तालाई क्यान्सरसम्मको खतरा


काठमाण्डु – चौधरी ग्रूप प्रालिले उत्पादन गर्दै आएको वाइ वाइ चाउचाउ उपभोक्ताको रोजाइमा पर्दै आएको थियो तर काठमाण्डु महानगरपालिकाले गरेको परीक्षणमा वाइ वाइ चाउचाउले जनस्वास्थ्यमाथि खेलवाड गर्दै आएको खुलासा भएको छ ।

वाइ वाइ चाउचाउ देशभर बिक्री हुँदै आए पनि काठमाण्डु महानगरले मात्रै परीक्षण गर्न गम्भीर त्रुटि फेला पारेको छ । अन्य स्थानीय तह र सरकारले भने वाइ वाइको मनपरीमा मौनता साँधेका छन् ।

काठमाण्डु महानगरपालिका–६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते वाइ वाइ चाउचाउ जफत गरी परीक्षण गर्दा गम्भीर खालको मिसावट फेला परेको छ । २०८० चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नम्बर एएल/वाइएल२३ का चाउचाउ जफत गरेपछि १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रंगको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।’ रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएच/जी तेल देखिएको छ । यसको भ्यालु १ एमजी केओएच/जी तेलभन्दा बढी हुनु हुँदैन । यसरी गुणस्तरहीन चाउचाउ बिक्रीवितरण गरेपछि महानगरले चौधरी ग्रूपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसूर देखिएको जनाउँदै महानगरले ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको छ । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनुपर्नेछ ।

प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदनमा विश्लेषण गरेका छन् ।

खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नहुनु हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सर लगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले बताए ।

चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, ‘यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धता पत्र पठाएको छ ।’ यस्ता गुणस्तर नभएका खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फूड नेपालको हुने पत्रमा उल्लेख छ ।

महानगरले सीजीलाई लेखेको पत्रमा उक्त लटको उत्पादन तुरुन्त बजारबाट फिर्ता गरी सोको प्रमाण पेश गर्न भनिएको छ । प्रतिष्ठित कम्पनी सीजीको पुरानो ब्राण्ड वाइ वाइमै गुणस्तरहीन मिसावट फेला पर्दा जनस्वास्थ्यमाथि हुने गरेको गम्भीर खेलवाड उजागर भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement