श्रीजंग गणले यसरी मनायाे सेना दिवस


काठमाण्डु – महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आज श्रीजंग गणले विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । शनिबार वीरगन्जको श्रीपूरस्थित श्रीजंग गणले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हाे ।

वीरगन्जको पूरानाे बसपार्कमा आयोजित कार्यक्रममा नेपाली सेनाका कलाकारहरुले विभिन्न संस्कृति झल्काउने पहिरनसहित नृत्य र गीत प्रस्तुत गरेका थिए ।

नेपाली सेना श्रीजंग गणका गणपति (प्रमुख सेनानी) डायमण्ड कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाले देश र जनताको लागि गरेका कामहरुको फोटो प्रदर्शनी र वृत्तचित्र पनि देखाईनुका साथै विभिन्न राष्ट्रभक्ति गीत संगीत पनि प्रस्तुत गरिएको थियो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारीजस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement