सुन तस्करी प्रकरण : एआईजी किरणसहित प्रहरी अधिकारीलाई कारवाही गर्न समितिको राय


काठमाण्डु – सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गठन गरिएको समितिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्य सहितका प्रहरी अधिकारीलाई कारवाही गर्नुपर्ने राय पेश गरेको छ ।

गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरेर राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरी अधिकृतहरूलाई प्रहरी नियमावली २०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन २०४९ अनुसार कारबाही गर्नुपर्ने समितिको राय छ ।

समितिले आयोगको प्रतिवेदन अध्ययन गरेर राय बुझाएको छ । प्रवक्ता भट्टराईका अनुसार विभागीय कारबाही सिफारिस भएकाहरूलाई कुन कानूनको कुन दफाअनुसार कारबाही गर्ने भन्ने राय दिएको छ ।

समितिले १० जना अधिकृतलाई गर्नुपर्ने कारबाहीबारे मन्त्रालयमा राय बुझाएको छ । चैत ११ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका थिए । समितिमा डीआईजी भीम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य रहेका थिए ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement