सैनिक कमाण्ड तथा स्टाफ तालिमबाट ६२ शिक्षार्थी अधिकृतहरू दीक्षित


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा देश तथा विदेशमा बहुआयामिक भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत वैशाख ४ गते सुरु भएको सि.सं.३० कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले करीब १ वर्ष अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूले सैनिक गतिविधि राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण हिस्सा भएको तथ्यलाई मनन् गर्दै समसामयिक घटनाक्रम तथा प्रविधिहरूबारे जानकार रहँदै आफ्नो राष्ट्र तथा संस्थाको हित अनुकूल अनिश्चित समयमा समेत प्रभावकारी योजनाहरूको तर्जुमा र कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

त्यस अवसरमा दीक्षित शिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. केशरजंग बरालले सैनिक कमाण्ड तथा स्टाफ कलेज विश्वविद्यालयमा आवद्ध उत्कृष्ट शैक्षिक संस्थाको रूपमा रहेको बताए । उनले रणनीति तथा व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयहरू सम्बन्धी ज्ञान सैनिक संस्थाबाट सबैले सिक्न सक्ने बताउँदै दीक्षित शिक्षार्थी अधिकृतहरूलाई आफ्नो देश र जनताको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्न तालिमले पर्याप्त क्षमता विकसित गरेको विश्वास व्यक्त गरे ।

नेपाली सेनाका ५३ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा नाइजेरिया, केन्या, माल्दिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका १/१ जनासहित जम्मा ६२ जना शिक्षार्थी अधिकृतहरू तालिम सम्पन्न गरी दीक्षित भएका छन् ।

विक्रम संवत् २०४९ पुस १४ गते स्थापना भएको कलेजले विक्रम संवत् २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको तालिमबाट हालसम्म नेपाली सेनाका १ हजार १७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १ हजार ३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन् ।

सोमबार समापन भएको तालिमको मास्टर्स इन स्ट्रयाटेजिक स्टडी (एमएसएस) कार्यक्रम विषयको शोधपत्र (थेसिस वर्क) अर्थात् कमाण्डेन्टस पेपरतर्फ सेनानी उज्वल खड्का र केन्याका मेजर ओस्कर मविता ओमाहे संयुक्त रूपमा सर्वोत्कृष्ट भएका छन् ।

सहसेनानी राकेश बस्नेत शैक्षिक अध्ययनका साथै समग्र तालिममा सर्वोत्कृष्ट भएका छन् । विदेशी शिक्षार्थीहरूतर्फ भारतीय सेनाका मेजर रमेश सांगवानले उत्कृष्ट शिक्षार्थी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

समारोहमा प्रधानसेनापति शर्माले सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन ‘द शिवपुरी जर्नल’को २५औं संस्करण विमोचन गरेका छन् । शैक्षिक अध्ययनतर्फ प्रथम शिक्षार्थीलाई त्रिभुवन विश्वविद्यालयका उपकूलपति र कमाण्डेन्टस पेपरतर्फ प्रथम भएका शिक्षार्थीलाई शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा उपस्थित थिए । बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, पूर्व शिक्षाधिकृतहरू, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आवद्ध महानुभावहरू, रथीवृन्द तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement