को बन्ला पोखरा महानगरपालिकाको मेयर ? विगतको परिणाम र भावी नतिजाको विश्लेषण


काठमाण्डु – पर्यटकीय नगरी पोखरा महानगरपालिका क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो स्थानीय तह हो । यो महानगरमा गत चुनावमा एमालेले जित निकालेको थियो । वैशाख ३० गतेको स्थानीय चुनावमा पोखरा महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न दलहरूले कसरत गरिरहेका छन् । महानगरमा मूलतः एमालेको बढी प्रभाव देखिन्छ । तर, उसलाई सत्तागठबन्धन र पार्टीमा आएको विभाजनले तर्साइरहेको छ ।

अघिल्लो चुनावको परिणाम

पोखरा महानगरमा कांग्रेस र माओवादीको तालमेलले पनि एमालेलाई जित्न सकेन । ०७४ को निर्वाचनमा पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार एक सय १८ मत प्राप्त गरी विजयी भएका थिए । संयुक्त प्यानलबाट मेयरमा उम्मेदवार बनेका कांग्रेसका रामजी कुँवरले ४६ हजार चार सय १६ मत मात्रै पाए । कुँवरको भन्दा जिसीले १३ हजार सात सय दुई मत बढी ल्याएका थिए ।

तत्कालीन समाजवादी फोरमका हुमबहादुर गुरुङले तीन हजार एक सय ७० र राप्रपाका गीता गुरुङले दुई हजार दुई सय ७२ मत पाए । त्यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार चार सय ४८ मत प्राप्त गरेर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार तीन सय ३८ मत पाइन् ।

उपमेयरमा दुवै दलले उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको गठबन्धन फेल भयो । उपमेयरमा माओवादीकी गोमा ढकालले आठ हजार सात सय ९६ मत ल्याइन् । राप्रपाका रमेशबहादुर खत्रीले दुई हजार आठ सय ४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले दुई हजार एक सय ९९ मत पाए । ३३ वडा रहेको पोखरा महानगरमा एमालेको वर्चस्व देखिन्छ । एमालेले २१ वटामा वडाध्यक्ष जितेको थियो । कांग्रेसका उम्मेदवार १२ वडामा विजयी भए ।

एमालेसँग लड्न सत्तागठबन्धनबीच तालमेल 

पोखरा महानगरमा गत निर्वाचनमा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए । एमालेसँग प्रतिस्पर्धा गर्न सत्तागठबन्धन दलबीच तालमेलको विकल्प देखिँदैन । किनकि महानगरमा गठबन्धन गर्दासमेत एमाले अगाडि देखिन्छ । तर, यसपटक एमाले विभाजन भएकाले अन्य दल उत्साहित देखिन्छन् । पोखरा महानगरमा तेस्रो बढी मत भएको समाजवादी फोरम पनि यसपटक सत्तागठबन्धनमा छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पनि गठबन्धनकै पक्षमा रहेकाले यसपटकको चुनाव प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाँच दलबीच गठबन्धन बनेमा एमालेले कडा टक्करको सामना गर्नुपर्नेछ । गत चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भनिए पनि पूर्ण रूपमा कार्यान्वयन भएको थिएन ।

त्यसबाहेक दलहरूले कस्ता उम्मेदवार अघि सार्छन् र थपिएका मतदाता कता लाग्छन् भन्नेले पनि चुनावी परिणाम प्रभावित हुन सक्छ । तर, एमाले चुनाव जित्नेमा ढुक्क देखिन्छ । कांग्रेस सत्तासाझेदार दलबीच तालेमल गरेर भए पनि पोखरा महानगरको नेतृत्व हत्याउने दाउमा छ । तालमेल भयो भने कडा प्रतिस्पर्धा हुनेछ । भएन भने एमालेले फेरि पनि चुनाव जित्ने विश्लेषक बताउँछन् ।

मेयरका दाबेदार

पोखरा महानगरको मेयरका लागि बहालवाला मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीसमेत आकांक्षी देखिएका छन् । एमालेबाट अहिलेका मेयर मानबहादुर जिसीले फेरि नउठ्ने बताइसकेका छन् । त्यसैले यसपटक हालकी उपमेयर मञ्जुदेवी गुरुङ मुख्य दाबेदार हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राम्रो सम्बन्ध भएकी गुरुङले उपमेयरमा पनि आश्चर्यजनक रूपमा टिकट पाएकी थिइन् । त्यसबाहेक गण्डकी प्रदेशका एमाले सांसद कृष्ण थापा, होटेल व्यवसायी भरत पहारी, पुष्प अधिकारी, दीपक पौडेल, भीम कार्कीसहित प्रदेश सांसद राजीव पहारी पनि मेयरको चर्चामा छन् ।

कांग्रेसबाट यसअघि उपमेयरमा पराजित भएकी सरस्वती गुरुङ, प्रदेश सरकारमा सञ्चार तथा कानुनमन्त्री रहेका विन्दुकुमार थापा, व्यवसायी गणेशबहादुर भट्टराई, निवर्तमान जिल्ला सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा र महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, पत्रकार गंगाधर पराजुलीलगायतले पनि आकांक्षा राखेका छन् । माओवादीबाट विश्वप्रकाश लामिछाने, बखानसिंह गुरुङ, हरिनारायण गिरी र गोमा ढकालको नाम चर्चामा छ । एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य पनि मेयरका दाबेदार हुन् । गठबन्धनमा सहमति भएमा उनी समाजवादीबाट मेयर पदका लागि सम्भावित एक मात्र उम्मेदवार हुन् ।

कति थपिए मतदाता ?

पोखरा महानगरमा अघिल्लो चुनावभन्दा यसपटक करिब ४० हजार मतदाता थपिएका छन् । ०७४ को स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मतदाता संख्या एक लाख ६८ हजार ६७ थियो । यसपटक मतदाताको संख्या दुई लाख सात हजार सात सय १२ पुगेको छ ।

यो पनि…
ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा
भरतपुर महानगरपालिका जहाँ हारजितका यी हुनेछन् मुख्य ‘फ्याक्टर’
काठमाडौं महानगर स्आगामी चुनावको विश्लेषण (इन्फोग्राफसहित) 

प्रतिक्रिया दिनुहोस
Advertisement