काठमाडौं महानगर :आगामी चुनावको विश्लेषण (इन्फोग्राफसहित)


काठमाण्डु- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू रणनीति बनाउन व्यस्त छन् । गठबन्धनको तयारी पनि भइरहेको छ । उम्मेदवारका आकांक्षीको दौडधुप पनि बढेको छ । संघीय राजधानी काठमाडौं महानगरपालिका जित्नु कुनै पनि दलका लागि ठूलो महत्वको विषय हो । गत चुनावको परिणाम हेर्ने हो भने महानगरमा एमाले बलियो देखिन्छ । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुनेमा शंका छैन ।

गत चुनावको परिणाम
०७४ सालको निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर मेयर बने । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार दुई सय ६९ मत पाए । विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले २३ हजार चार सय ३९ र साझा पार्टीको समर्थनमा उम्मेदवार बनेका किशोर थापाले १८ हजार चार सय ९६ मत ल्याए ।

काठमाडौंमा माओवादी केन्द्रले निकै कम मत पायो । उसका उम्मेदवार सर्वोत्तमदास डंगोलले आठ हजार भोट पनि पाएनन् । जब कि तत्कालीन नयाँ शक्तिका पवित्र वज्राचार्यले ६ हजारभन्दा बढी मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार नौ सय ५२ मत ल्याएर जित निकालिन् । एमालेले उपमेयर राप्रपालाई दिएको थियो, तर सहमतिको पालना भएन । अर्थात् एमालेका धेरै भोट राप्रपामा गएनन् । त्यसैले कांग्रेस विजयी भयो । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत मात्रै ल्याए ।

साझा पार्टीका निरूपमा यादवले तेस्रो बढी अर्थात् ११ हजार पाँच सय ३३ र चौथो स्थानको माओवादी केन्द्रका सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत पाइन् । महानगरका ३२ वडामध्ये १८ मा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेस विजयी भयो । अन्य दल शून्य भए ।

कांग्रेसलाई पुनरागमनको चिन्ता
काठमाडौं महानगरमा प्रजातन्त्र स्थापनापछिको पहिलो निर्वाचनमा कांग्रेस र त्यसपछिका चुनावमा एमालेले वर्चस्व बनाएको छ । कांग्रेसको पकड क्रमिक रूपमा खस्कँदै गएको देखिन्छ । गत चुनावमा उसको फराकिलो अन्तरको हारले पनि त्यसलाई पुष्टि गर्छ । महानगरमा अहिले एमाले सबैभन्दा ठूलो दल हो । उसको यो हैसियत खोसेर महानगरमा पुनरागमन गर्न कांग्रेसका लागि चुनौतीपूर्ण र चिन्ताको विषय हो ।

आगामी चुनावमा हारजितका कारक तत्व
काठमाडौं महानगरमा सम्भावित नतिजामा मूलतः पाँचवटा फ्याक्टरले काम गर्न सक्नेछन् । ती हुन्– सत्तासाझेदार दलको गठबन्धन, दलहरूमा आएको विभाजन, थपिएका मतदाता, उम्मेदवारको अनुहार, साबिक नेतृत्वको असफलता । साबिक विजेता एमालेका लागि काठमाडौंमा सबैभन्दा ठूलो चिन्ता सत्तासाझेदार दलबीचको सम्भावित तालमेल र आफ्नै पार्टीमा आएको विभाजन हो ।

मेयर विद्यासुन्दर शाक्यको अलोकप्रियता पनि एमालेका लागि टाउको दुखाइको विषय हो । गत चुनावमा राप्रपासँग तालमेल गरेर एमालेले मेयरमा फराकिलो अन्तरको जित निकालेको थियो । यसपटक राप्रपा पनि विभाजित भएको छ । तेस्रो र चौथो स्थानमा रहेका विवेकशील र साझा पार्टी एकीकृत भएर फेरि फुटको अवस्थामा पुगेका छन् ।

कुन दलले कस्तो उम्मेदवार अघि सार्छन् भन्ने कुराले पनि काठमाडौंको परिणाम प्रभावित हुनेछ । नेवार समुदायको जनसंख्या बढी भएकाले दलहरूले त्यही समुदायकै उम्मेदवारको खोजी गरिरहेका छन् । सत्तासाझेदार दलबीच गठबन्धन बनेन भने काठमाडौंमा फेरि एमालेले बाजी मार्न सक्नेछ । गठबन्धन हुँदा कडा टक्कर हुन सक्छ ।

सम्भावित उम्मेदवार
एमालेबाट हालका मेयर विद्यासुन्दर शाक्य, पूर्वराज्यमन्त्री रामवीर मानन्धर, पूर्वमेयर केशव स्थापितलगायतले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । स्थापितलाई एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले तयारी गर्न संकेत गरिसकेको बताइन्छ । त्यसैले काठमाण्डुमा उनले टिकट पाउने सम्भावना बढेको छ ।

कांग्रेसबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वराज्यमन्त्री तीर्थमान डंगोल, उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगरका पार्टी सभापति नीलकाजी शाक्य, गत चुनावका प्रत्याशी राजुराज जोशीलगायतले दाबेदारी पेस गरेका छन् । तालमेलको तयारी भएकाले हुन सक्छ एकीकृत समाजवादी, माओवादी, जनता समाजवादी पार्टीबाट कोही पनि खुलेका छैनन् । बरु ¥यापर बालेन शाहले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मतदाता
०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरमा दुई लाख ७९ हजार तीन सय नौ मतदाता थिए । यसपटक करिब २० हजार थपिएका छन् । कुल मतदाताको संख्या तीन लाख दुई सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement