देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै, मतदान राष्ट्रियसभा गृहमा, खाना भृकुटीमण्डपमा

देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै, मतदान राष्ट्रियसभा गृहमा, खाना भृकुटीमण्डपमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गर्ने निर्णय गरिएको हो।

महाधिवेशन संयोजन समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको समितिले यस्तो निर्णय गरेको हो। महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका नाममा तीनवटै स्थान बुक गरिएको छ। उद्घाटन र समापन समारोह खुलामञ्चमा, पदाधिकारी तथा केन्द्रीय सदस्यको मतदान राष्ट्रियसभा गृहमा र प्रतिनिधिका लागि खाजा तथा खानाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा गरिनेछ।

देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसका लागि मंसिर १९ गतेदेखि नै खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप प्रयोग गर्ने गरी बुक गरिएको छ।

महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने देउवा समूहको दाबी छ। समूहले जिल्ला अधिवेशन भने कात्तिक १५ गते गर्ने तयारी गरेको छ।

उता कांग्रेसको १५औँ महाधिवेशन यसअघि नै काठमाण्डुको खुलामञ्चमा असोज १८ देखि २२ गतेसम्म सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्वाचित भएका थिए।

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने तयारी, उद्घाटन र समापन खुलामञ्चमा तथा खानाको व्यवस्था भृकुटीमण्डपमा

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बिहीबार सानेपास्थित पार्टी कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

उक्त महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न दलका शीर्ष नेताहरूलाई उद्घाटन समारोहमा निमन्त्रणा गरिएको थियो।

तर एमाले अध्यक्ष ओली सहभागी भएका थिएनन्। प्रधानमन्त्री वालेन्द्र शाहलाई भने निमन्त्रणा गरिएको थिएन। यसअघि सम्पन्न महाधिवेशनमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी भएको बताइएको थियो।

देउवा समूहले भने अब मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्ने अवस्था बनेको छ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी भएका थिए। त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो।