विष्णु पौडेललाई वामदेवले भनेः महासचिवले विवेक पुर्‍याउन नसक्दा समस्या भयो


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको  राजनीतिक प्रस्तावको स्वागत गरेका छन् ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रस्तावपछि बोल्दै उपाध्यक्ष गौतमले पार्टीका बैठकमा मौखिम र लिखित विचार राख्नु सकारात्मक पक्ष भएको बताएका हुन् । गौतमले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको र पार्टीका सदस्यहरुले समाधान गर्न सकिने बताएको उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ’, उनले भने, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।’

उपाध्यक्ष गौतमले पछिल्लो समय नेकपाका अध्यक्षका कारण बैठकमा अवरोध भएको भन्दै पार्टीका विचार खुलस्त राख्ने थलोको रुपमा रहेका कमिटी बैठक अवरोध गर्न नहुने बताएका छन् ।

‘बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्न’, उनले भने ।

सचिवालय र स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरेर बैठक बोलाउनुपर्ने बताएका छन् ।

उनले महासचिव विष्णु पौडेलले बैठक बोलाउने सामान्य विषयमा विवेक पुर्याउन नसक्दा पार्टीमा समस्या उत्पन्न भएको बताएका हुन् ।

‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement