बिना मगरले गर्छु भनेका यी १९ काम : ५ वर्षमा एउटा काम पनि गरिएन तर फेरि भोट माग्दै


बेलौरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले २०७४ सालको चुनावमा कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँदा मतदातामा अपेक्षा थियो । शक्तिकेन्द्र नजिक भएकाले उनले कञ्चनपुरको विकास गर्न सक्छिन् भन्ने आशा थियो ।

चुनावी प्रचारप्रसारका क्रममा उनले आकर्षक योजना समेत सार्वजनिक गरेकी थिइन् । उनले २०७४ सालमा गर्छु भनेका काम नगरेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ । उनी कञ्चनपुर–१ बाट जितेर लामो समय खानेपानीमन्त्री समेत बनिन् ।

सांसद र मन्त्री बनेपछि काम नगरेका कारण यतिबेला मगर जनताको प्रश्नको घेरामा परेकी छन् । सामाजिक सञ्जाल र भेटघाटका क्रममा बिना मगरसँग कामको हिसाबकिताबअ माग्न थालिएको छ ।

यस्ता छन् बिना मगरले २०७४ सालको चुनावमा गर्छु भनेका १९ काम 

१. प्रत्येक स्थानीय तहमा खेलकुद मैदान

२. चारै स्थानीय तहमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र

३. बेलडाँडीबाट शुक्लाफाँटा निस्किने पर्यटकीय बाटो

४. सांस्कृतिक केन्द्र निर्माण

५. दुग्ध उद्योग स्थापना

६. कोल्ड स्टोर निर्माण

७. खाली ठाउँमा पार्क निर्माण

८. मत्स्य प्रवद्र्धन केन्द्र स्थापना

९. प्रत्येक स्थानीय तहमा पुस्तकालय

१०. बेलौरी र पुनर्वासमा स्मार्ट सिटी

११. सीमा सुरक्षा प्रत्याभूति हुने गरी नीतिगत पहल

१२. पर्यटकीय केन्द्र बनाउन गुरुयोजना निर्माण

१३. कृषि क्याम्पस स्थापना

१४. स्वास्थ्य क्षेत्रको स्तरोन्नति

१५. वृद्धवृद्धा र एकल महिलाका लागि सेवा केन्द्र स्थापना

१६. एक वडा एक सहकारीको अवधारणा लागू गर्ने

१७. निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम स्थापना

१८. प्राविधिक कलेज स्थापना

१९. हात्ती नियन्त्रणका लागि तारबार

आकर्षक आश्वासन बाँडेर चुनाव जितेपछि पूर्वमन्त्री बिना मगरले मतदाताको फोन नउठाउने, दुःख, पीर, मर्का नसुन्ने, कार्यकर्तालाई बेवास्ता गर्ने गरेको गुनासो छ । मन्त्री हुँदा उनले आफ्नो सचिवालयमा जिल्लाबाहिरका मान्छेलाई राखेको र निर्वाचन क्षेत्रलाई बेवास्ता गरेको आरोप छ ।

बेलडाँडी स्थानीय व्यापारी मदन खत्रीले चुनाव जितेपछि मगरले विकासमा ध्यान नदिएको बताए । ‘प्रचण्डकी बुहारीले धेरै विकास गर्छिन् भन्ने जनताको अपेक्षा थियो तर उहाँले प्रतिबद्धता धेरै गर्नुभयो, काम गर्नुभएन,’ उनले भने ।

मगर यतिबेला सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् । उनीसँग नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले प्रतिस्पर्धा गरिरहेका छन् । तामाङ गत चुनावमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । चुनाव जितेपछि तामाङ निरन्तर मतदाताको सम्पर्कमा रहने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement