चिनियां विदेशमन्त्रीको भ्रमणमा यी विषयमा हुंदैछ सहमति, भारतलगत्तै प्रधानमन्त्रीको बेइजिङ जाने तयारी


काठमाण्डु –  बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौता अघि बढ्ने सम्भावना न्युन देखिएको छ । चिनियां विदेशमन्त्री वाङ यी को आजबाट हुने भ्रमणमा चिनियां पक्षले उक्त सम्झौतालाई अन्तिम रुप दिने चाहना व्यक्त गरेपनि नेपाली पक्षले भने केही समय कुर्न भनेको स्रोतको दावी छ ।

एमसीसी सम्झौंता संसदबाट पारित भएलगत्तै चिनियां विदेशमन्त्री वाङ ३ दिने नेपाल भ्रमणको क्रममा आज ५ बजे भारतबाट काठमाण्डु पुग्ने कार्यक्रम छ । वाङको भ्रमणको बेला द्धिपक्षीय हितमा कुराकानी हुनुका साथै विभिन्न समझदारीमा हस्ताक्षर गर्ने तयारी छ ।

सम्झौंता कार्यान्वयनको लागि बनेको मस्यौंदा दुवै पक्षबीच सांटासांट भइसकेको छ । तर, परराष्ट्रमन्त्री डा.नारायण खड्काले सम्झौतालाई थप अध्ययन गर्न चाहेको बताएपछी उक्त सम्झौता कार्यान्वयन हुने सम्भावना कम भएको हो । चीनले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन सम्झौताका लागि पटक-पटक ताकेता गरिरहेको छ । चीनले यसपटक पनि सम्झौता कार्यान्वयनका लागि जोड गरिरहेको स्रोत बताउंछ । यसपटक हस्ताक्षर नभए प्रधानमन्त्रीको बेइजिङ भ्रमणमा उक्त सम्झौता अघि बढाउने तयारी छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपालमा यो पहिलो उच्चस्तरिय भ्रमण हो । परराष्ट्रमन्त्रालयले उनको भ्रमणको सम्पूर्ण तयारी सकिएको जनाएको छ । वाङ पाकिस्तान,अफगानिस्तानबाट भारत हुंदैछ आज नेपाल आउन लागेका हुन् । उनको भ्रमणले दुई देशको सम्बन्ध मजबूत हुने अपेक्षा गरिएको छ ।

यसपटकको भ्रमणमा विभिन्न समझदारीमा हस्ताक्षर गर्ने तयारी छ । चीनले नेपाललाई दिंदै आएको बार्षिक अनुदान समेत बढाउन लागेको स्रोतको दावी छ । यसअघि चीनले नेपाललाई १३ अर्ब रुपैयां दिंदै आएकोमा त्यसलाई बढाएर १५ अर्ब बनाउने समझदारी हुंदैछ । चिनियां राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बेलामा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय समेत यस पटकको प्रमुख एजेण्डा छ । नेपाली पक्षले यसको कार्यान्वयनका लागि चीनसंग धेरै पटक आग्रह गरिसकेको छ । चीन र भारत दुवैले गरेको सहयोग अघि नबढेको नेपालको गुनासो छ ।

भ्रमणमा यसअघि नै सम्झौंता भएको केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यता अन्तर्गतको प्राविधिक पक्षबारे समेत सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । त्यसैगरी रातामाटे—केरुङ विद्युतीय प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमति समेत हुंदैछ ।

चीनले भरतपुर क्यान्सर अस्पतालमा सहयोग गर्ने, चीनतर्फ विकासे घांस निर्यात गर्ने,नियमित हवाई सेवा संचालन गर्ने र नेपालमा कोभिड महामारीको बेला फर्केका नेपाली विद्यार्थीहरुलाई चीन फर्काउनेबारे समेत सहमति हुंदैछ ।

त्यसैगरी तातोपानी रसुवागढी नाकाको स्तरोन्नति र कोरला नाका सुचारु गर्ने विषयमा समेत सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

चिनियां विदेशमन्त्री वाङको नेतृत्वमा २५ सदस्यीय टोली नेपाल आउंदैछ । टोलीमा परराष्ट्र उर्जा,सुरक्षा र अर्थमन्त्रालयका अधिकारी सामेल छन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा चीन जाने

चीनले अप्रिलमा युक्रेन र अफगानस्तान समस्याको विषयमा उच्चस्तरिय सम्मेलनको आयोजना गर्दैछ । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बेइजिङ बोलाउने चीनको योजना छ । चिनियां विदेशमन्त्री वाङले यस पटकको भ्रमणमा देउवालाई औपचारिक निम्तो दिंदैछन् ।

चीनको राज्य परिषदका सदस्य समेत रहेका विदेशमन्त्री वाङको यसपटक नेपालसंग क्षेत्रिय र अन्र्तराष्ट्रिय मंचमा सहकार्य गर्नेबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको स्रोत बताउंछ । प्रधानमन्त्रीको भारत भ्रमण (१-३) लगत्तै उनि चीन भ्रमणमा जांदैछन् । देउवाको भ्रमणपछी चिनियां प्रधानमन्त्री लि कछयांङको समेत नेपाल भ्रमण हुंदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement