उल्टो मोटरसाइकल चलाएर विश्व किर्तीमानी राखेका चित्रकुमार कार्कीकाे कथा


नरेन्द्र रौले
काठमाण्डु – अहिले युट्युवमा एक जना युवा ट्रेन्डिङमा छन् । मेमोरी किङ विजय शाही । सामाजिक सञ्जालभरी छाएका विजय सर्वत्र खोजीको पात्र बनेका छन् । कालिकोटका युवा विजयले हजारौं पानाका किताब एक छिन सरर हेरेपछि कुन पेजमा के छ भनिदिन्छन् ।

तर, आज लेख्न लागेको कथा विजय शाहीको हैन । उनलाई चर्चामा ल्याउने, मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर विश्व किर्तीमानी राखेका चित्रकुमार कार्कीको हो ।

खोटाङ जिल्लाको राजापानीमा जन्मिएका र विजयखर्कमा हुर्किएका चित्रकुमार कार्कीको वाल्यकाल धेरै ठाउंमा बित्यो । माओवादी द्वन्द्वले उनको केही समय सुनसरीमा बित्यो । भारतको उत्तराखण्डमा आफन्त थिए । आफन्तकै साथ लागेर उनी उत्तराखण्डको देहरादुन हानिए । देहरादुनको स्कुलमा ८ कक्षा पास गरेर उदयपुरको त्रियुगा उच्च माविमा भर्ना कार्कीलाई कुनै बेला पाइलट बन्न खुब रहर थियो । उनी घरमाथीको आकाशबाट जहाज उडेकाे हेर्दै पाइलट बन्ने सपना बुन्थे । समय र परिस्थितिले उनी पाईलट बन्न त पाएनन् तर, मेची महाकाली उल्टो बाइक चलाएर विश्व किर्तिमान राख्न भने सफल भए । त्यसपछि भने कार्कीको चर्चाको कुनै कमी भएन ।

उनले बाइक चलाउन थालेको त सन् २००९ देखी नै हो । आफूसँग बाइक थिएन । फेरी त्यो बेला मोटरसाइकल चढ्ने मानिस पनि ठूलै गनिन्थ्यो । घरबाट मोटरसाइकल हेर्न तीन दिनको यात्रा गरेर गाइघाट पुगेका थिए कार्की ।

उनले अरुको मोटरसाइकल मागेर भए पनि चलाए । उनको मोटरसाइकल चलाउने कला देखेपछि लहान घर भएका रवीन्द्र कार्कीले मोटरसाइकल नै उपहार दिए । ‘मलाई त हेलिकप्टर नै दिए जस्तो लाग्यो,’ उनले भने, ‘सहयोग गर्नेहरुको त लामै लिस्ट छ ।’ ‘शान्ति र संबिधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं’ यही नाराका साथ उनले गरेको उल्टो मोटरसाइकल यात्रा गरे । सन् २०११ मा कार्कीले गिनिज बुकमा नाम लेखाउने सफल भए ।

प्रसंग ९ वर्ष अघिको हो, चित्रकुमार कार्कीले उल्टो मोटरसाइकल चलाएर विश्व किर्तीमानी राखे जबरजस्त रुपमा । सूरुमा त कसैले उनलाई पत्याएकै थिएनन् । उल्टो मोटरसाइकल चलाउंछु भन्दा धेरैले उनलाई मुर्ख, पागल भने । कतिले लडेर मर्छ समेत भने । जिल्ला प्रशासन कार्यालयले त यस्तो काम गर्न अनुमति दिएकै थिएन । कार्की काठमाण्डु आएर आफैंले गृह मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिए । फेरी पुगे उदयपुरको सदरमुकाम गाईघाट ।

२०६८ साल, कात्र्तिक १८ गते

उनलाई जसरी पनि अनौठो काम गरेर विश्वमा नाम चम्काउनु थियो । जसरी हुन्छ उल्टो मोटरसाइकल चलाएरै विश्व किर्तिमान राख्ने धोको पूरा गर्नु थियो । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी प्रमुख, जिल्लाका सबै पार्टीका नेताहरु, स्कुलका विद्यार्थीहरु, र हजारौं सर्वसाधारण भेला गरे । अविर र फूलमाला लगाएर उनको विदाई गरियो ।

कात्तिक १९ गते झापाको मेची पुलबाट कञ्चनपुरको महेन्द्रनगरलाई गन्तब्य बनाउंदै कार्कीको उल्टो मोटरसाइकल यात्रा सूरु भयो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीले स्कर्टिङमा खटिए । मेची महाकाली यात्रा गर्दा हरेक ठाउंमा स्वागत गर्नेहरुको लर्को थियो । १८ वर्षका कार्कीलाई फूलमाला लगाईदिन्थे । यस्तो न्यानो स्वागत पाएपछि उनले दुःख, पीडा बिर्सिए ।

उल्टो मोटरसाइकल हाँकेर पूर्वको मेची पुलबाट पश्चिमको महेन्द्रनगरको गड्डाचौकी पुग्न पाँच दिन लाग्यो । उनले विश्व शान्तिका लागी १ हजार १ सय ५३ किलोमिटर मोटरसाइकल यात्रा गरेर विश्व रेकर्ड कायम गरेरै छाडे ।

गड्डाचौकीमै उनले प्रेस मिट् गरे । कञ्चनपुरको बनबासाबाट भारतको नयां दिल्लीसम्म पनि उल्टो मोटरसाइकल हाँकेर पुगिदिए । अनि काठमाडौंको रिङरोड २७ किलोमिटर परिक्रमा गर्न त उनलाई खासै समस्या भएन । सन् २०११ मा उनले विश्व रेकर्ड राखेको प्रमाणपत्र पाए ।

बेलायतमा मुख्य कार्यालय रहेको च्याम्पियन्स बुक अफ वल्र्डस्ले कार्कीलाई नेपालका लागी सद्भाबना दूत र संयोजक नियुक्त गरेको छ । एसियन ट्यालेन्ट प्रमोशनले विश्व शान्तिका लागी सद्भाबना दूत नियुक्त गरेको छ । हाल किर्तिमानी युवा संघ नेपालका केन्द्रिय अध्यक्ष हुन्, कार्की । विश्व रेकर्ड राख्नेको हक, हितका लागी वकालत गर्ने छाता संगठन हो । जसको ६५ जिल्लामा शाखाहरु बिस्तार भईसकेका छन् ।

वर्ल्ड रेकर्ड फाउन्डेसन नेपालका अध्यक्ष रहेका कार्कीलाई नेपालका थुप्रै कम्पनिहरुले ब्राण्ड एम्बेसडर नियुक्त गरेका छन् । आइएमइ ग्रुपको युएम बाइक लगायत अन्य कम्पनिहरुले ब्राण्ड एम्बेसडर नियुक्त गरेका छन् ।

कार्की सामाजिक सेवाका काम पनि निकै सक्रिय छन् । मोरङको रतुवामाइमा बाढी पीडितलाई बस्ति बसाउनेदेखी अन्य ठाउमा उनले सामाजिक सेवा गरेका छन् । झण्डै एक दशक भयो, उनी पत्रकारितामा पनि आबद्ध छन् ।

कार्कीको आत्मविश्वास

‘धेरैले मलाई विश्वास नगरे पनि मैले आफैले आफैलाई विश्वास गरेको थिएँ । त्यसैले मलाई धोका भएन,’ हरदम ह“सिलो देखिने कार्कीले भने ‘म जित्न सफल भएँ । आफैले आफैलाई जित्नु थियो । कसैसँग मेरो दौड थिएन ।’ आफैंले आफैंलाई दौडाएर उनलाई पहिलो हुनु थियो । आफैंलाई पत्याउनु थियो । उनको विचारमा त्यो नै सफल हुनु हो ।

अरुलाई असम्भव र अपत्यारिलो लाग्ने काम उनलाई सरल लाग्छ । आत्माले स्वीकारेपछि सबै कुरा सम्भव हुने उनको सोच छ । अब उनी पांच वटा शीर्षकमा विश्व रेकर्ड राख्ने योजनामा छन् । उनलाई आफू मात्र रेकर्ड राखौं भन्ने लाग्दैन । केही गरौं भन्ने युवाहरुलाई उर्जा, उत्साह दिईरहेका छन् । विश्व रेकर्ड राख्न चाहनेहरुलाई आर्थिक, नैतिक र प्राविधिक रुपमा सघाईरहेका छन् ।

भावि योजना

वल्र्ड रेकर्ड फाउन्डेसन नेपालका अध्यक्ष कार्कीसँग योजनाहरुको चाङ छ । उनी विश्व किर्तिमानी संग्राहलय बनाउन जुटेका छन् । जहाँ विश्व किर्तिमानी राखिसकेका व्यक्तिहरुका प्रमाणपत्र, सम्मान पत्र राखिने छन् । रेकर्ड राखिसकेका मृतकका मूर्ति पनि यहाँ राखिनेछन् । खोज, अनुसन्धान र अध्ययनका लागी उपयोगी हुनेछ । ‘संसारकै नमुना संग्रहालय बन्नेछ,’ उनले भने, ‘विश्वका १ सय २ देशका विश्व रेकर्डका कार्यालयसँग समन्वय भईरहेको छ ।’

नेपालबाट विश्व रेकर्ड चाहने व्यक्तिहरुलाई सहयोग गर्ने उनको धोको छ । गाउं गाउ र देशका कुना–काप्चामा लुकेर रहेका प्रतिभालाई खोजेर विश्वमा चिनाउने उनको भित्रि इच्छा छ ।

लाइफ स्टाइल

कार्कीको जीवनशैली सामान्य छ । काठमाडौंमा एक्लै बसिरहेका उनलाई खाना बनाउन, लुगा धुन झन्झट् लाग्छ । प्रायः उनी होटेलमा खाना खान्छन् । खानामा यही हुनुपर्छ भन्ने छैन । सेकुवाका पारखी कार्की फलफूलसहित कोरियन र जापनिज परिकारहरु खुबै रुचाउंछन् ।

त्यस्तै कार्कीलाई फेसनमा खुबै रुची छ । विशेष गरी कोटका पारखी उनी कतै निस्किनुपर्यो भने कोट र पाइन्टमा सजिएर निस्किन्छन् ।

घुमघाममा उनी विशेष रुचि राख्छन् । नयाँ–नयाँ ठाउहरु घुमिरहन उनलाई मन पर्छ । आबश्यक पर्दा गाडी नत्र उनी बाइकमै हुँइकिन्छन् । ६ महिनाअघि मात्रै उदयपुरबाट काठमाडौं छिरेका उनको दैनिकी बडो ब्यस्ततामा बितिरहेको छ ।

विश्व रेकर्ड राख्न चाहनेहरुले निरन्तर फोन गरेर उनीसँग सल्लाह लिईरहेका हुन्छन् । आफूसँग प्रतिभा भएका तर आर्थिक हैसियत नभएका, कसरी प्रोसेस गर्ने त्यो थाहा नभएकाहरुले उनीसँग सल्लाह लिईरहेका छन् ।

दुब्लो तर खिरिलो ज्यान भएका कार्कीको दौडधुप पनि उत्तिकै छ । बिभिन्न कम्पनी, ब्राण्डहरुले उनीसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव गर्ने गरेका छन् ।

एक्लो जीवन बाँचिरहेका कार्कीलाई तत्कालै विवाह गर्न मन छैन । बेला–बेला लाग्छ, अब त विवाह गरौं लाग्छ । उनलाई रुचाउने धेरै युवतीहरु छन् । तर, उनले जीवनसाथीकै रुपमा कसैलाई छनौट गरिसकेका छैनन् ।

आफू र आफ्नो कामलाई बुझ्ने कोही भैदिए भन्ने लाग्छ । खुसी र सन्तुष्टि उनको जीवनका आधार हुन् । ‘नत्र त जीवनमा अघि बढ्नै सकिदैन नि,’ हँसिलो मुहार लगाउंदै उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement