कूटनीतिमा युवा महिला : आमा पासाङल्हामुझै दावाफुटी शेर्पाको बन्ला कीर्तिमान ?


काठमाडौं । पासाङल्हामु शेर्पा नेपालीमाझ परिचित नाम हो । प्रथम नेपाली महिला सगरमाथा आरोहीको नामबाट उनी परिचित छिन् ।

तिनै शेर्पाकी छोरी दावाफुटी शेर्पा नयाँ कीर्तिमान कायम गर्ने बाटोमा छिन् । संसदीय विशेष सुनुवाइ समितिले शेर्पालाई स्पेनका लागि नेपाली राजदूत अनुमोदन गरेको छ । सरकारको सिफारिसपछि समितिबाट शेर्पा अनुमोदन भएकी हुन् ।

२०३८ सालमा जन्मेर युवा अवस्थामै राजदूत बनेर शेर्पाले एउटा कीर्तिमान त कायम गरिसकेकी छन्, तर यो कीर्तिमानलाई मूर्तरुप दिन उनीसामु चुनौती छ । शेर्पा सम्भवतः नेपाली इतिहासमा सबैभन्दा कम उमेरमा राजदूत बनेकी छन् ।

राजदूत पदमा रहेका व्यक्तिले राज्यको प्रतिनिधिको रुपमा काम गर्नुपर्छ । त्यसका लागि राजनीति, कूटनीति लगायत विविध क्षेत्रको अनुभव हुनुपर्ने सामान्य मान्यता छ । तर शेर्पासँग यी क्षेत्रको देखिने गरी अनुभव छैन । अध्ययनको जगमा शेर्पाले राजदूतको महत्वपूर्ण जिम्मेवारी पाएकी छन् ।

अधिकांश राजदूत राजनीतिमा लामो अनुभवसहित मन्त्रीसम्म भएका, निजामती सेवामा प्रशासनिक जिम्मेवारी सम्हालेका व्यक्ति हुने गरेका छन् । राजदूतले राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीसँग समन्वय र सहकार्य गर्नुपर्ने भएकाले त्यस क्षेत्रको व्यावहारिक अनुभव आवश्यक मानिन्छ ।

राजनीतिक र प्रशासनिक अनुभव नभएकी शेर्पाले दक्षता र क्षमता देखाउँदै कार्यकाललाई सफल बनाएर नयाँ कीर्तिमान राख्ने अवसर पाएकी छन् । दावाफुटी अमेरिकामा अध्ययन गरेर हालसालै नेपाल फर्किएकी हुन् । उनी पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष समेत हुन् ।

सगरमाथा आरोहरणमा कुनै नेपाली महिला सफल नभएको बेला उनकी आमा पासाङल्हामु शेर्पाले नयाँ कीर्तिमान राखेकी थिइन्, छोरी दावाफुटीले पनि कूटनीतिक सफलताको सगरमाथा चुमेर नयाँ कीर्तिमान बनाउन सक्छिन् । यो कीर्तिमान उनको अध्ययन, मेहनत, लगन र इमान्दारितामा भर पर्छ ।
कूटनीतिक रुपमा सफल हुन अनुभव नै चाहिन्छ भन्ने तर्कलाई दावाफुटीले गलत सावित गर्न त सक्छिन् । तर उनको प्रदर्शन कमजोर भएको अवस्थामा भने अनुभव झनै हाबी हुनेछ । राजनीतिक नेतृत्वले जोखिम लिएर उनलाई कूटनीतिक नेतृत्व सम्हाल्ने अवसर दिएको छ, यसमा खरो उत्रिने र आफूलाई सफल देखाउने चुनौती अनुमोदित राजदूत दावाफुटीसामु छ ।

यसअघि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादित बनेको तीतो अनुभव ताजै छ । विवादित बनेपछि शेर्पाले कार्यकाल पूरा नहुँदै राजीनामा दिनुपरेको थियो । राजदूत पद संवेदनशील भएकाले पनि यसको गरिमा कायम राख्न चुनौतीपूर्ण हुन्छ । विगतका तीता घटनाबाट पाठ सिक्दै दावाफुटी शेर्पाले आफूलाई अब्बल र सफल राजदूत बनाउन सक्नेछिन् भन्ने आशा गर्न सकिन्छ ।

सोमबार भएको सुनुवाइपछि समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको तथा योग्यता, क्षमता र अनुभवका आधारमा राजदूतका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको बताए । परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि २०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको छ ।

मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो । शेर्पासँगै सरकारले अस्ट्रेलियका लागि महेश दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसले समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, निरुदेवी पाल लगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामबारे प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement