सेनाको रथी बढुवा प्रकरण : दुई उपरथीलाई पाखा लगाउंदै गिरी रथीमा बढुवा सिफारीस 


काठमाडौं– नेपाली सेनामा रथीको बढुवा प्रक्रिया सुरु भएको छ । सेनामा रिक्त बलाध्यक्षरथी पदमा उपरथी शरद गिरीको नाम सिफारीस भएको छ । सेनामा रथीको दरबन्दी गत भदौ २४ देखी रिक्त रहेको थियो । रथी बढुवामा सिफारीस भएका गिरी सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुख छन् । उनि उपरथीको वरियतामा तेस्रो नम्बरमा रहेका थिए । काठमाडौंपार्टीले सेनामा डेढ महिना वितिसक्दा समेत रथी बढुवा सुरु नभएको भन्दै पहिलो चोटी समाचार लेखेको थियो । 

प्रधानसेनापति पुर्णचन्द्र थापाले वरियतामा पहिलो नम्बरमा रहेका उपरथी अनुज कुमार वस्नेत र दोस्रो नम्बरमा रहेका उपरथी सुवेदीको बढुवा रोक्दै गिरीलाई रथी बढुवाका लागी सिफारीस गरेका हुन् ।  

सैनिक सचिव सरोज प्रताप राणाले शुक्रवार सैनिक नियमावलीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले उपरथी गिरीलाई रथी दर्जामा पदोन्नतीको लागी गरेको सिफारीस प्रधानसेनापतिबाट सदर भएको जनाएका छन   

सैनिक सचिव राणाले निकालेको सुचनामा उक्त पदमा बढुवा सिफारीस भएकाले जानकारीको लागी १५ दिने सुचना प्रकाशित गरेको उल्लेख गरेका छन् । 

सैनिक स्रोतले दिएको जानकारीअनुसार उपरथी  वस्नेतको शैक्षिक प्रमाणपत्र र भाषा परिक्षाको प्रमाणपत्रमा समस्या देखिएपछि सेनापतिले उनको बढुवा रोकेका हुन् । नेपाली सेनामा शैक्षिक प्रमाणपत्रको कारण देखाउंदै उपरथीको रथीमा बढुवा रोकिएको यो पहिलो घटना हो । यसअघि वस्नेतकै बहिनी ज्वांई उपरथी विनोज वस्नेतको पनि शैक्षिक प्रमाणपत्रको कारण देखाउंदै उमेर बाकीं हुंदा हुंदै उपरथीको म्याद थपिएको थिएन् । 

तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले उनको म्याद थप नगरेपछि उनि उपरथीबाटै अवकास भएका थिए । वस्नेतको म्याद थप भएको अवस्थामा उनि प्रधानसेनापतिका प्रवल दावेदार हुने अवस्था थियो । क्ष्ँत्रीकै पालामा सहायकरथी ज्ञानेन्द्रजंग रायामाझीको समेत उपरथीमा बढुवा रोकिएको थियो । तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाले रायमाझीलाई नियमविपरीत ५४ वर्ष उमेर हद क्रस हुंदा समेत एनडिसीका लागी चीन पठाएका थिए । पछि रायमाझीको समेत शैक्षिक प्रमाणपत्रमा समस्या भएको र नियमविपरीत एनडिसी कोर्सका लागी पठाएको भन्दै तत्कालिन प्रधानसेनापति क्ष्ँत्रीले उनलाई उपरथीमा बढुवा सिफारीस गरेका थिएनन् ।  तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाले अन्यायपुर्वक उपरथी प्रेमप्रकाश थापा मगरलाई उपरथीबाट बर्खास्त गरेका थिए । 

क्ष्ँत्रीपछिको प्रधानसेनापतिका स्वभाविक दावेदार मानिएका मगरलाई तत्कालिन सहायकरथी हेम खत्रीको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बोर्ड बैठकमा राखेको अभियोग लगाइएको थियो । मगर सहायकरथी खत्री एनडिसी कोर्सका लागी पाकिस्तान जांदा सैनिक सचिव थिए । 

तर, उक्त बोर्डको अध्यक्ष भने गौरवशमेर नै थिए । राणाले उपरथी वेनोजलाई सैनिक नेतृत्वको रुपमा अघि बढाउन खोजेका थिए । मगरलाई उपरथीबाट बर्खास्त गरिएपछि थापाको प्रधानसेनापति बन्ने बाटो खुलेको थियो ।  

यदी थापाको रथीमा म्याद नभएको भए र वेनोजको उपरथीमा म्याद थप भएको अवस्थामा उनि नै प्रधानसेनापति हुने निश्चित थियो । थापाको तत्कालिन प्रधानसेनापति क्ष्ँत्रीले रथीमा म्याद थप गर्नु र वेनोज उपरथीबाटै घर गएपछि सेनामा प्रधानसेनापतिको रोलक्रम परिवर्तन भएको थियो । अहिले पनि कतिपयले रथी बढुवालाई यसै विषयसंग जोडेपनि त्यसमा सत्यता भने देखिदैन् । 

वस्नेतलाई राजिनामा गर्न वा सहज वर्हिगमनको लागी बाटो रोज्न सैनिक नेतृत्वले सन्देश दिंदा पनि उनले नमानेको स्रोतको दाबी छ । वस्नेतको शैक्षिक प्रमाणपत्रबारे रक्ष्ाँमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ । तर, वस्नेतले भने आफुलाई पुर्वाग्रह सांधेको भन्दै प्रधानसेनापतिको अनुमती लिएर उनले गुनासो रक्षामन्त्री ईश्वर पोखरेललाई गरिसकेका छन् । तर, सरकार उनको बारेमा निर्णय फेर्ने लाइनमा नरहेको रक्षामन्त्री निकट स्रोत बताउंछ ।  सेनापतिले बढुवा नगर्ने मनशाय बनाएलगत्तै राष्ट्रपति,प्रधानमन्त्री र रक्षामन्त्रीलाई पहिले नै कन्भिस गर्ने प्रचलन छ । 

वस्नेतलाई सैनिक नेतृत्वले राजिनामा दिन सन्देश दिएपनि उनि भने मंसिर २५ गतेसम्म नै आफु उपरथी पदमा बस्ने बताइरहेका छन् । सुरुमा उनि राजीनामा दिन समेत तयार भएको तर, पारिवारीक दबावमा उक्त निर्णय रोकिएको उनि निकट स्रोत बताउंछ । 

२०१८ मंसिर २५ मा जन्मेका वस्नेत २०३८ साल साउन १ गते नेपाली सेनामा अधिकृतका रुपमा भर्ना भएका थिए ।  उनी अहिलेको सैनिक ऐनमा भएको नियमअनुसार मंसिर २५ गतेसम्म सैनिक सेवामा वस्न पाउनेछन् । त्यसअघि नै विदामा वस्ने वा राजीनामा दिने विकल्प भने उनका लागी खुला नै छ । 

सेनामा सुवेदीभन्दा वरियतामा अघि वस्नेत र अर्का उपरथी शेखरसिंह वस्नेत थिए । उपरथी शेखरसिंहले उमेर हदका कारण अवकास पाइसकेका छन् । प्रधानसेनापति थापालाई आफ्ना नातेदार पर्ने उपरथी शेखरलाई रथीमा बढुवा गर्न वस्नेतमाथी षडयन्त्र गरेको आरोप लगाइएपनि उनले शेखरको अवकाससंगै त्यो अनुमान गलत सावित भइसकेको छ । 

जवकी थापाले चाहेको भए उपरथी अनुजलाई यसअघि नै कार्वाही गरेर शेखरलाई तीन तारेमा सिफारीस गर्न सक्थे । उनलाई शेखरलाई बढुवा गर्न परिवारकै सदस्यहरुबाट दबाव आएपनि त्यसको थापाले प्रतिवाद गर्दै आएका थिए । उनले सेनामा प्रणाली नमिच्ने बताएको स्रोतको दावी छ । कार्यरथी विभागका प्रमुख रहेका शेखर अवकास भएपछि प्रधानसेनापति थापाले उनको जिम्मेवारी समेत उपरथी सुवेदीलाई दिएका थिए । कतिपयले सेनामा रथीमा सुवेदीको बढुवा हुने अनुमान गरेपनि अन्तिममा उनलाई पनि पाखा लगाउंदै गिरीको बढुवा भएको हो । सुवेदीको पनि नागरिकतामा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ । 

रथीमा बढुवा सिफारीस भएका गिरी उपत्यका पृतनाका पृतनापति थिए । उनी यसअघि सेनाको निकै महत्वपूर्ण मानिने निती निर्देशनालय र युद्धकार्य महानिर्देशनालयका महानिर्देशक थिए । हाल स्टाफ कलेजमा कार्यरत गिरीले त्यहा र उपत्यका पृतनामा निकै सुधार गरेको बताईन्छ । गिरी व्यवसायीक सैनिक अधिकृत भएकाले प्रधानसेनापतिले उनलाई बढुवा गरेको उनि निकट स्रोतको भनाई छ । 

वस्नेत र सुवेदीको रथीमा बढुवा नभएपछि उनि वरियतामा तेस्रो नम्बरमा थिए ।  त्यसपछि वरियतामा क्रमस प्रभुराम शर्मा, गौरव तण्डुल, समिर शाही र ईश्वर हमाल छन् । गिरीको रथीमा बढुवाभएसंगै उपरथी शर्माको प्रधानसेनापति वन्ने बाटो खुला भएको छ । अहिलेको अवस्थामा वस्नेत, सुवेदी वा गिरी जस्को रथीमा बढुवा भएको अवस्थामा समेत त्यसले भावी प्रधानसेनापतिको रोलक्रममा समेत कुनै असर पर्ने थिएन् ।

गिरी र सुवेदी मात्र होईन वस्नेत नै रथीमा बढुवा भएको अवस्थामा समेत भावी प्रधानसेनापतिको रोलक्रममा कुनै फरक पर्ने अवस्था देखिदैन् । किनभने आगामी २०७८ भदौ २४ सम्म अहिलेकै सेनापति थापा नै प्रधानसेनापतिका रुपमा कार्यभार सम्हाल्नेछन् । उनले अवकास पाएलगत्तै शर्मा वरियताका आधारमा प्रधानसेनापति वन्ने वाटो खुल्नेछ ।  सेनापतिले समेत भावी प्रधानसेनापतिको रुपमा शर्मालाई नै अघि बढाउन खोजेको स्रोतको दाबी छ । 

रथी बढुवामा सिफारीस भएका उपरथी गिरी १९ बेसिकका सैनिक अधिकृत हुन् । गिरीले यसअघि उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी सम्हालेका थिए । उनले भारतबाट एनडिसी गरेका छन् । उपरथी गिरी २०१९ असार ६ गते जन्मेका हुन् । उनी २०३६ साल चैत्र २९ मा नेपाली सेनामा सैनिक अधिकृतका रुपमा प्रवेश गरेका थिए । 

गिरी सेनाभित्र व्यावसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनी आर्थीक रुपमा समेत विवादमा नआएका उच्च सैनिक अधिकारी हुन् । उनलाई यसअघिका प्रधानसेनापति राजेन्द्र क्ष्ँत्रीले समेत मन पराएका थिए । तर,प्रधानसेनापतिको अन्तिम कार्यकालतिर भने गिरीले क्षत्रीका अनावश्यक चांसोमा साथ नदिएपछि उनको सरुवा स्टाफ कलेजमा गरिएको थियो । 

सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा रथीको बढुवा हुने उल्लेख छ । सेनापतिले रथीको बढुवा प्रक्रिया सिफारीस गरेपछि मन्त्रिपरीषद बैठकले त्यसलाई अनुमोदन गर्ने वा नगर्ने अन्तिम निर्णय लिनेछ । तर,सेनाको बढुवा र सरुवा अहिलेसम्म सरकारले उल्टाएको उदाहरण कम भएकाले पनि सेनापतिको सिफारीस नै कतिपय अवस्थामा अन्तिम निर्णय हुने गरेको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनापतिको रुपमा कार्यभार सम्हालेसंगै सेनामा थुप्रै सुधारका काम गरेका छन् । उनले गुटमा विश्वास गरेर काम गर्ने भन्दा प्रणालीको विकास  गर्नेतर्फ ध्यान दिएको सेनाका एक उपरथी बताउंछन् । 

सेनापतिले सेनाको नक्कली प्रमाणपत्र, फास्ट ट्रयाक बढुवाका नाममा यसअघि सुरु गरिएको बढुवा पद्धती, शान्ती सेनामा हुने अनियमितता, भष्ट्राचार,आर्थीक अनियमितता र अपारदर्शीताका विरुद्ध कठोर कदम चाल्ने संकेत दिइसकेका छन् । सेनामा उनले त्यसको कार्यान्वयन गर्न समेत सुरुवात गरिसकेका छन् । 

पछिल्लो समय सेनाभित्र भनसुन,नातावाद र सिफारीसको बोलवाला भएपछि उनले सेनामा पद्धती बसाल्न आफुले जस्तोसुकै कदम चाल्ने सन्देश दिइसकेका छन् । सेनापतिले सेनामा सुधार गर्न नै सवै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण माग गरेको सेनाका एक सहायकरथी बताउंछन् । 

‘चिफ साप कसैको कुरा सुन्नेभन्दा पनि प्रमाणमा विश्वास गर्नुहुन्छ,उहाले आरोप लगाएका भरमा धारणा बनाउनुहुन्न, प्रमाण हेरेर निर्णय गर्नुहुन्छ ।’ सेनाका एक उपरथीले भने । 

प्रधानसेनापतिले सेनामा उपहार लिन कडाई गर्नुका साथै भर्ना छनौटमा हुने अपारदर्शीताको समेत अन्त्यका लागी कडाईका साथ काम गरिरहेका छन् । उनले चिठठी पत्र पत्राचारका नाममा हुने पैसाको खर्च र लाग्ने समयको अन्त्य समेत गरेका छन् । सेनापतिले सेनामा इन्ट्रानेट सिस्टमको सुरुवात गरेका छन् । यसले गर्दा सेनाभित्रको आन्तरीक पत्राचार इन्टरनेट प्रयोग नगरी कम्युटरमार्फत नै गर्ने भएकाले त्यसमा पैसा र समयको बचत भएको छ । पछिल्लो समय लेखामा दुई तारे जर्नेल रहेका भुवन अधिकारीलाई समेत प्रधानसेनापतिले जिम्मेवारी विहिन बनाएका छन् । 

प्रधानसेनापति थापाका आफन्त पर्ने अधिकारी विवादित पृष्ठभुमि भएका सैनिक अधिकारी हुन् । उनको आर्थीक अधिकार समेत प्रधानसेनापतिले कटौती गरेको चर्चा सैनिक मुख्यालयमा छ । उपरथी अधिकारीलाई राजीनामा नरोजे कार्वाही गर्नेसम्मको तयारी भएको बुझिएको छ । 

किन रोकियो उपरथी बस्नेत र सुवेदीको बढुवा ? 

सेनामा उच्च अधिकत बढुवा रोकिने विषय सामान्य आरोपले सम्वभ हुंदैन् । उपरथी वस्नेत सेनाका शक्तिशाली उपरथी हुन् । उनि यसअघि सेनामा जहिले शक्तिमा रहेका सैनिक अधिकारी मानिन्छन् । उपरथी वस्नेतले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका थिए । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले चीनमा एनडिसीका लागी पठाएका थिए ।

नेपालीमा स्टाफ कलेज गरेकालाई एनडिसीमा नपठाउने निति विपरीत वस्नेतलाई चीन पठाएकोमा सेनाभित्र विरोध भएको थियो । उनले एनडिसीमा जानको लागी पास गर्नुपर्ने आईएलटिएस (अंग्रेजी भाषा परिक्षा) समेत भारतको दार्जिलिङ्गबाट उर्तिण गरेका थिए । जवकी त्यही कोर्सका लागी जाने अन्य सैनिक अधिकृतले भने भाषा परिक्षा नेपालबाटै उर्तिण गरेका थिए । 

उपरथी बस्नेत सहायकरथीबाट उपरथीमा बढुवा भएपछि उनको म्याद थप्ने नथप्नेबारे त्यतिबेला चर्चा भएपनि अन्तिममा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनको म्याद थप गरेका थिए । उनको म्याद थपमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधानको समेत हात रहेको थियो । उपरथीमा बढुवा भएर म्याद समेत थप भइसकेको अवस्थामा बस्नेतको रथीमा बढुवा रोक्नुलाई सेनामा कतिपयले पुर्वाग्रह भएको आरोप समेत लगाउने गरेका छन् ।

 

तर, प्रधानसेनापति थापाले डेढ महिनासम्म बढुवा रोक्नुको कारण भने सम्बद्ध सवैलाई बुझाइसकेको स्रोतको दाबी छ । थापाले आफुले शक्तिका भरमा सेटिङ्ग मिलाएर सधै जागिरमा टिक्ने प्रवृतिको अन्त्य गर्ने बताउने गरेका छन् । उनले आफु निकट वा टाढाको भन्ने आधारमा भन्दा काम र कार्यक्षमताको आधारमा जिम्मेवारी दिने बताउंदै आएका छन् । त्यस्तै अर्का उपरथी सुवेदी पनि नेपालीमा स्टाफ कलेज गरेका अधिकृत हुन ।

 

सुवेदी र वस्नेत दुवै जनालाई एनडिसी कोर्समा पठाउन तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले नियम नै संशोधन गरेर नेपालीमा स्टाफ कलेज गरेकालाई पनि पठाउने निर्णय गरेका थिए । सुवेदीको सहायरकथीबाट उपरथीमा बढुवा हुंदा समेत नागरिकता सच्याएको आरोप लागेको थियो । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement