मधेशमा एमालेको ‘उदय’ ! प्रभू साहको ‘षड्यन्त्र’ चिर्दै संघ र प्रदेश दुवैतिर पहिलो


काठमाण्डु- मधेशका मामिलामा नेकपा एमालेलाई कतिपयले नकारात्मक रूपमा प्रस्तुत गर्छन् । तर एमाले मधेश प्रदेशमा पहिलो शक्तिका रूपमा उदाएको छ ।

‘नेपालीलाई मात्रै नागरिकता दिने’ एमालेको अडानलाई कतिपयले मधेश विरोधी एजेन्डाको रूपमा अर्थ्याउने गरेका छन् । तर, मधेशका जनताले एमालेलाई पहिलो शक्ति बनाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले पहिलो शक्तिको रूपमा उदाएको छ । मधेशमा रहेका प्रतिनिधि सभाका ३२ निर्वाचन क्षेत्रमध्ये एमालेले ९ क्षेत्र जितेको छ । मधेशमा कांग्रेस ७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ३, नेकपा एकीकृत समाजवादी २, माओवादी केन्द्र १, जनमत पार्टी १ र स्वतन्त्र ३ क्षेत्रमा निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवारहरू सिरहाबाट रामशंकर यादव, लिलानाथ श्रेष्ठ, धनुषाबाट जुलीकुमारी महतो महासेठ, रघुवीर महासेठ, महोत्तरीबाट लक्ष्मी महतो कोइरी, सर्लाहीबाट हरिप्रसाद उप्रेती, बाराबाट अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी शाह, पर्साबाट राजकुमार गुप्ता निर्वाचित भएका छन् ।

मधेशका प्रदेश सभाका ६४ क्षेत्रमध्ये १५ क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभामा नेपाली कांग्रेस १३, जनता समाजवादी पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ७, जनमत पार्टी ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्र ६ क्षेत्रमा विजयी भएका छन् ।

भारतीय अघोषित नाकाबन्दीका बेला त्यसको विरोध गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मधेश विरोधी’ नेताको रूपमा विपक्षीले स्थापित गर्न खोजेका थिए । २०७४ सालको निर्वाचनमा मधेशमा एमालेलाई केही धक्का लागेको थियो । तर २०७९ सालको निर्वाचनमा एमालेको उदय भएको छ ।

यसपालिको निर्वाचनमा उम्मेदवारी दर्ताको क्रममा नेता प्रभू साहले ‘षड्यन्त्र’ गरेका थिए । एमालेको टिकटमा उम्मेदवारी दिने भनी टिकट समेत लगेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेता साहले एमालेका टिकट उम्मेदवारको हातमा पर्नै नदिई मधेशमा एमालेको उम्मेदवारी नै पर्न नदिने ‘षड्यन्त्र’ गरेको आरोप लागेको थियो । नेता साहलाई मधेशमा स्थापित नेता मानिन्छ । उनै नेताले षड्यन्त्र गर्दा समेत मधेशमा एमालेको उदय भएको छ ।

मधेशका कतिपय क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो । तालमेलको एमाले र जसपा दुवैले लिएका छन् । एमाले ९ सिट जितेर पहिलो हुँदा जसपा ६ सिट जितेर तेस्रो भएको छ । सत्तारुढ गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ३ सिटमा सीमित भएको छ ।

मधेशमा एमाले उदाउँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई धक्का लागेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी २ र माओवादी १ सिटमा सीमित भएको छ । मधेशका चर्चित माओवादी नेताहरू मात्रिकाप्रसाद यादव लगायत पराजित भएका छन् ।

मधेशमा एमाले पहिलो र कांग्रेस दोस्रो हुँदा मधेशकेन्द्रित दल जसपा र लोसपाको शक्ति ह्रास भएको छ । समानुपातिकतर्फ अध्यक्ष सीके राउत नेतृत्वको जनमत पार्टी उदाएको छ । जनमत पार्टीले प्रदेशसभा समानुपातिकमा जसपा र लोसपाभन्दा बढी मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement