हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने लक्ष्यका साथ सरकारले ल्यायो यस्तो योजना


काठमाडौं– उर्जा मन्त्रालयले ७ खर्ब रुपैयाँ उठाएर १९ वटा जलविद्युत आयोजना अघि बढाउने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले मन्त्रीको कार्यभार सम्हालेसंगै स्वेतपत्र जारी गरेका थिए । मन्त्री पुनले झन्डै ३ करोड जनतालाई नै जलविद्युतमा जोड्ने योजना सार्वजनिक गरेका थिए । सरकारले हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने उद्देश्यअनुसार यसो गर्न लागिएको हो ।

‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिएर ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ अघि बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) उक्त अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

सातै प्रदेशबाट १९ जलविद्युत आयोजना छनोट गरी तिनमा हरेक नागरिकको सेयर लगानी गर्ने योजना छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले तयार गरेको अवधारणापत्रमा ती आयोजनामा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यक्रम शुभारम्भको पूर्वसन्ध्यामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले आकर्षक र राम्रा आयोजना छनोट गरिएको बताए । ‘साह्रै राम्रा र आकर्षक आयोजना छनोट भएका छन् ,’ उनले भने, ‘हरेक आयोजनाको प्रतिफल १५ देखि १७ प्रतिशतसम्म हुने देखिएको छ ।’

सर्वसाधारणबाट सुरुमा आयोजनामा हुने कूल लगानीको १० प्रतिशत रकम लिने र उचित सदुपयोग हुने गरी लगानी गर्ने मन्त्री पुनले बताए । यसरी लगानी गरिएको रकममा आकर्षक ब्याज दिने पनि उनले बताए ।

हरेक जनतालाई विद्युतको सेयरधनी बनाउने गरी छनोट गरिएका ३ हजार ४ सय ७९ मेगावाटका आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ अनुमान गरिएको छ । यस्ता आयोजनामा ७० प्रतिशत ऋण (४ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ) र ३० प्रतिशत स्वपुँजी (२ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ) लगानी गर्ने प्रक्षेपण छ । उक्त अनुपातमा लगानी गर्दा सर्वसाधारणबाट स्वपुँजीको ४९ प्रतिशत (१ खर्ब २ अर्ब २८ करोड रुपैयाँ) र संस्थापक सरकारी निकायबाट ५१ प्रतिशत (१ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ) उठाउने योजना छ ।

७ वर्ष आयोजना निर्माणको अवधि तोकेर तयार गरिएको अवधारणापत्रमा ९ सरकारी निकायबाट ऋण जुटाउने प्रस्ताव गरिएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडिसिएल, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारबाट ऋण उठाउने योजना छ ।

उर्जा मन्त्रालयमा बुधवार ‘‘जनताको जलविद्युत आयोजना कार्यक्रमको बारेमा जानकारी दिंदै उर्जामन्त्री बर्षमान पुन ।

ती निकायले तोकिएका आयोजनामा हरेक वर्ष १ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म लगानी गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ । यस्तै, नपुग ऋण स्थानीयस्तरबाटै उठाउने योजना छ । साथै, बन्ड, डिभेञ्चर तथा विदेशबाट समेत जुटाउने उल्लेख छ । छनोट गरिएका आयोजनामा एचआइडिसिएल, नेपाल विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनी, विद्युत उत्पादन कम्पनी, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषबाट स्वपुँजी उठाउने योजना छ ।

सर्वसाधारणले आयोजनामा सेयर लगानी गर्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डको नियममा आवश्यक संशोधन भएको मन्त्री पुनले जानकारी दिए । लगानीका लागि आवेदन दिने व्यक्तिले सुरुमा लिन प्रतिबद्धता गरेको सेयर रकमको १० प्रतिशत जम्मा गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ ।

आयोजना नाम क्षमता (मेगावाट)

अपर अरुण ७२५
इखुवाखोला ३०
किमाथांका अरुण ४८२
घुन्साखोला ७२
सिम्बुवा खोला ७०
अरुण ४ ३७२
तामाकोसी–५ ९६
त्रिशूली ३ बी ३७
बूढीगण्डकी ग्वारखोला ६०
बूढीगण्डकी प्रोक–१ १००
बूढीगण्डकी प्रोक–२ २४०
बूढीगण्डकी (क) ७५
भेरीबबई ४८
चैनपुर सेती २१०
अपर सेती ५०
सेती–३ १६३
स्रोतः जलविद्युत् लगानी तथा विकास कम्पनी

प्रतिक्रिया दिनुहोस
Advertisement