सेनाको युगान्तकारी निर्णय :‘तीन जोड एक कमाण्ड’ अवधारणा आजबाट कार्यान्वयनमा


रोशन खड्का, काठमाडौं– नेपाली सेनामा ‘तीन जोर एक कमाण्ड ’ संरचना शुक्रबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । सैनिक मुख्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले चारवटै कमाण्ड हेडक्वार्टरका कमाण्डरहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेर यो संरचना औपचारिक रुपमा कार्यान्वयन भएको घोषणा गरे ।

प्रधानसेनापति थापाले आफ्नो कार्यकालको सुरुवतादेखी नै तीन जोर एक कमाण्ड संरचनाको अवधारणालाई अघि बढाउन पहल सुरु गरेका थिए । जंगी अड्डा भन्दा मुनि चारवटा ‘कम्प्लिट मिलिटरी कमाण्ड’ लाई तीन जोर एक कमाण्डको संरचना भनिएको हो ।

प्रधानसेनापति थापाले ०७५ भदौ २४ गते कमाण्ड ग्रहण पश्चातको पहिलो सम्बोधनमै विकेन्द्रीकरणमार्फत सबै तहका कमाण्डरहरुलाई आ– आफ्ना जिम्मेवारीप्रति उत्तरदायी बनाउन नेपाली सेनामा मिसन कमाण्ड तथा अपरेशनल कमाण्डको अवधारणा लागु गरिने घोषणा गरेका थिए । उनले सैनिक जिवनबाट अवकासमा जानु एक महिनाअघि यसको लागु समेत गरका छन् । यसलाई सेनामा युगान्तकारी निर्णयका रुपमा ब्याख्या गरिएको छ । सेनामा तत्कालिन प्रधानसेनापति धर्मपाल थापाका पालादेखी नै चमु ( कोर) संरचनामा जानुपर्ने बहस हुंदै आएको थियो ।

सेनाको चार वटा कमाण्डको कमाण्डरमा उपत्यका हेडक्वार्टरमा उपरथी अशोकराज सिग्देल,पश्चिम कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी प्रेम शाही ,मध्य कमाण्ड हेड्क्वार्टरको कमाण्डरमा उपरथी विनयविक्रम राणा र पूर्वी कमाण्ड हेडक्वार्टरको कमाण्डरमा उपरथी सन्तोषकुमार ढकाललाई तोकेको छ ।

नेपाली सेनाले तयार पारी रक्षा मन्त्रालयको समितिले अध्ययन र परिमार्जन गरी प्रस्ताव भएको सेनाको सांगठनिक संरचाना मन्त्रिपरिषदको गत असार २४ को निर्णयअनुसार स्विकृत भएको हो । सेनाले यो पुर्नसंरचनालाई सेनाको दीर्घकालीन योजना २०६९ अनुसार सांगठनिक संरचनालाई ३ चरणमा सुधार गर्ने योजनाअनुसार विगतमा गरिएको सेनाको पुर्नढांचा र पुर्नसन्तुलनको निरन्तरता भएको जनाएको छ ।

यसले रक्षामन्त्रालयको राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको एकिकृत कार्ययोजना र सेनाको दीर्घकालीन सोच २०८७ लाई समेत आधार बनाएको सेनाले दावी गरेको छ । सेनाले सेनाको पुर्नसंरचना २०८१ असार मसान्तभित्र कार्यन्वयन भइसक्ने दावी समेत गरेको छ ।

नेपाली सेनाको संवैधानिक र अन्य जिम्मेवारीहरुलाई थप असरदार रुपमा सम्पादन गर्ने लक्ष्यका साथ सरकारले स्वीकृत गरेको नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणालाई कार्यान्वयन गर्नका लागि यो सांगठनिक संरचना आवश्यक रहेको जनाएको छ ।

यसले मुख्य रुपमा अन्तर्राष्ट्रिय, क्षेत्रिय तथा राष्ट्रिय सुरक्षा परिवेश र अन्तर्राष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी नेपाली सेनालाई समयानुकुल थप व्यवसायिक ( अनुकूल, चलायमान र गतिशील) बनाउन पनि यस प्रकारको संरचनामा परिवर्तन आवश्यक रहेको सेनाको दावी छ ।

सेनाले ४ वटा कमाण्ड हेडक्वार्टरहरु आजबाटै पूर्ण रुपमा संचालनमा आएपनि अधिकृत र सकल दर्जासंग सम्बन्धित दरबन्दिहरुको हकमा भने आगामी ६ वर्षको अवधिभित्र पुरा गरिने लक्ष्य राखिएको जनाएको छ ।

सेनाले कमाण्ड संरचनामा जानुको पछाडीको आवश्यकतालाई समेत स्पष्ट पारेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उदियमान आवश्यकताको आधारमा अतिरिक्त नविन संरचनाहरु जस्तै नेपालको नदि क्षेत्रमा उद्धार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण कार्य गर्न सक्ने क्षमताको विकास तथा तदर्थ रुपमा स्थापना गरीएका अङ्गहरु जस्तै सीमा अनुगमन तथा सर्भे निर्देशनालय आदिलाई समेत समेट्नु पर्ने आवश्यकताले यो अवधारणा अगाडी बढाइएको हो ।

त्यसका साथै जङ्गी अड्डामा पनि प्रशासनिक क्षमता सुदृढ गर्न विभाग र महानिर्देशनालय एवं अन्य निकायहरुमा परिवर्तनको आवश्यकता महसुस गरीएकोले पनि यसलाई सेनाले अघि बढाएको बताइएको छ ।

फिल्ड तहमा हाल देखिएका मध्य क्रमका अधिकृत,पदिक र विल्लादारहरु समेतको वृत्तिविकासमा परेको समस्यालाई पनि उचित तवरबाट सम्बोधन र व्यवस्थापन गर्न जरुरी भएकाले कमाण्ड संरचना लागु गरिएको सेनाको दावी छ ।

नेपाली सेनाले यसबाट सेनामा कायम रहेको विद्यमान कुल संख्यामा कुनै थपघट नहुने तथा विशिष्ट श्रेणीको दरबन्दी संख्यामा पनि कुनै पनि हेरफेर नहुने स्पष्ट पारेको छ ।

यसअघि सेनामा रहेका ८ वटा पृतना हेडक्वाटरहरुलाई ४ वटा कमाण्डहरुमा स्तरोन्नती गरिएको हो । विशिष्टिकृत समूहहरु जस्तै संचार–प्रविधि, मेडिकल, बन्दोबस्ती, इन्जिनियरिङ्ग इत्यादिलाई कोरको अवधारणामा स्तरोन्नति गरीएको छ भने त्यससंग सम्बन्धित अध्ययन संस्थानहरुको समेत व्यवस्था गरीएको छ ।

सेनाले प्रकृति र पर्यावरण संरक्षण एवं विपद् व्यबस्थापनमा टेवा पुग्ने गरी संगठनात्मक क्षमता बढाइएको, सामरिक महत्वका स्थान, पुरातात्विक सम्पदा तथा अति विशिष्ट व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक अङ्ग थप गरीएको र सैनिक हवाई क्षमतालाई क्रमिक रूपमा विस्तार गर्दै सैनिक वायु सेवामा स्तरोन्नती गर्ने गरी थप एयर वेश खडा गरिएको जनाएको छ ।

सेनाले कमाण्ड संरचनालाई सहयोग पुग्ने गरी एयरवेश र लजिस्टिक बेस पनि तयार गरिसकेको छ । जसअनुसार काठमाण्डुको गौचरण र सुर्खेतमा एयरवेश निर्माण गरिसकेको छ । काठमाण्डुले उपत्यका र पश्चिमाअंचल र सुर्खेतले कर्णाली र सुदुरपश्चिम प्रदेश हेरिरहेको छ भने र पूर्वी कमाण्डका लागी विराटनगरमा ऐयरवेश बनाउने तयारी छ । त्यसैगरी चितवनको शक्तिखोर र बांकेको कोशिलानगरमा लजिस्टिक बेश तयारी भइसकेको छ भने पूर्वमा महोत्तरीको बर्दिवासमा निर्माण गर्ने सेनाको तयारी छ ।

सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार स्वास्थ्य सेवाको पहुंच र क्षमता विस्तार गर्दै सैनिक मेडिकल कोरको स्तरोन्नती गरी सबै कमाण्डहरुमा कमाण्ड अस्पताल तथा फिल्ड अस्पतालहरुको व्यवस्था गरिएको छ । सेनाले काठमाण्डु बाहेक पोखरा,इटहरी र नेपालगंजमा सैनिक अस्पताल समेत निर्माण सम्पन्न गरिसकेको छ ।

विगतमा तदर्थमा स्थापना गरिएका राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र सीमा अनुगमन तथा सर्भे निर्देशनालयको नयां संरचनाहरुलाई मूर्तरुप दिईएको र महिला गुल्म थप भइ दुइ वटा बनेको उल्लेख गरेको छ । यसअघि सेनामा एउटा मात्र महिला गुल्म रहेको थियो । सेनामा निश्चित संख्यामा सहायकरथी, महासेनानी र प्रमुख सेनानी दर्जाको दरबन्दि थप गरीएको समेत सेनाले जनाएको छ ।

सेनाको सांगठनिक पुनर्संरचनाबाट वर्तमान र भावि चुनौतीहरु सामना गर्न सक्ने आधुनिक सेनाको परिकल्पना अनुसारको क्षमताहरु हासिल गर्न आधार तयार हुने दावी सेनाले गरेको छ । त्यसका साथै यसको कार्यान्वयन गर्दा सरकारलाई केही थप आर्थिक भार पर्न जाने तर यसको चापलाई नियन्त्रण गर्नको लागि कार्यान्वयनलाई ६ वर्षको अवधिभित्र सम्पन्न गर्न मिलाइएको जनाइएको छ ।

सेनाको कमाण्ड संरचनाले फौजको द्रुत परिचालन,स्रोत सांधनको उचित व्यवस्थापनाका काम पनि छिटो छरितो हुने सेनाले विश्वास लिएको छ । कमाण्ड संरचना कार्यान्वयनमा आएसंगै सैनिक मुख्यालय भने नितीगत र रणनीतिक काममा लाग्नेछ । सेनामा यसबाट कमाण्डरहरु अपरेशनलसहितको आफु मातहतको निर्णय लिन कमाण्ड तहमै समेत स्वतन्त्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement