नेपाल-चीनबारे अमेरिकी राजदूतको त्यो ट्विट : साझेदारीको सन्देश कि श्रेय लिन हतारो ?


काठमाडौं – अन्तर्राष्ट्रिय कुटनीतिमा विश्व शक्तिराष्ट्र अमेरिका र उदीयमान शक्तिराष्ट्र चीन एकअर्काका प्रतिस्पर्धी हुन् । त्यसको छायाँ नेपालमा समेत पटक–पटक देखिने गरेको छ । गत फागुन दोस्रो साता नेपाल भ्रमणमा रहेका बेला दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपालमा चीनको लगानीबारे प्रश्न उठाउँदै चीनको विरोध गरे ।

उनले चिनियाँ लगानीका कारण धेरै देश अप्ठ्यारोमा परेको दाबी गर्दै नेपालमा गर्ने लगानी नेपालको हितमा हुनुपर्ने जिकिर गरेका थिए । आफूसँग सम्बन्धित नभएको विषयमा अरु देशको आपसी सम्बन्धमा प्रतिक्रिया जनाउनुलाई स्वभाविक मानिँदैन । तर अमेरिकी सहायक रक्षामन्त्रीले नेपालमै आएर अस्वभाविक अभिव्यक्ति दिएका थिए ।

सहायक रक्षामन्त्रीको अभिव्यक्ति सार्वजनिक भएको भोलिपल्टै चिनियाँ राजदूत होउ यान्छीले जवाफ फर्काएकी थिइन् । राजदूत होउले ‘कोशाै‌ टाढा रहेको देशले नेपाल–चीन सम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित भएको’ बताइन् । यसरी दुवै देशको नेपाल सम्बन्धमा परस्परविरोधी भाव छताछुल्ल भएको थियो ।अमेरिका र चीनबीच अन्तर्राष्ट्रियस्तर तथा नेपालभित्रै पनि स्वार्थ मिलिसकेका र सहकार्य हुनसक्ने दीर्घकालीन अवस्था प्रष्ट देखिँदैन ।

तर बुधबार बिहान नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले रोचक ट्विट गरेका छन् । उनले चिनियाँ निर्माण कम्पनी र अमेरिकी सुरुङ प्रविधिको कारणले भेरी–बबई सुरुङमार्ग निर्धारित समयभन्दा अघि नै निर्माण सम्भव भएको टिप्पणी गरे । सुरुङ मार्ग ‘ब्रेक थ्रू’ कार्यक्रममा सहभागी भएपछि राजदूत बेरीको ट्विट आएको थियो ।

बुधबार बिहान ट्विट गर्दै उनले स्पष्ट नियम र खुला खरिद प्रक्रिया भएदेखि नेपालले कुनै एक वा अर्को साझेदारको विकल्प खोजिरहनु नपर्ने बताए । ‘नेपालले विकल्पको रूपमा एक या अर्को साझेदार खोजिरहनु पर्दैन,’ बेरीले ट्विटमा भनेका छन्, ‘वास्तवमा नेपालले धेरै साझेदारहरूसँगको सहकार्यले राम्रो परिणाम लिन सक्छ ।’

हरेक विकास निर्माणमा ढिलासुस्ती हुने प्रवृत्तिले सर्वसाधारण वाक्कदिक्क भइरहेको बेला निर्धारित समयभन्दा अघि नै सुरुङमार्ग निर्माण भएपछि सबैको ध्यानाकर्षण भएको थियो । चिनियाँ ठेकेदार कम्पनी भएकाले चाँडो काम सकिएको चर्चा चलिरहेका बेला अमेरिकी राजदूतले काम छिटो सकिनुमा अमेरिकी प्रविधिको हात रहेको आशय व्यक्त गर्दै आफ्नो देशलाई पनि जोड्न खोजेका छन् । ‘ब्रेक थ्रू’ कार्यक्रममा दुवै देशका राजदूत सहभागी थिए ।

अमेरिकी राजदूतले सुरुङ मार्गको सकारात्मक सन्देशमा श्रेय लिन हतारो गरिएको हो वा नेपालको विकासमा चीनसँग दीर्घकालीन सहकार्य हुने हो रु राजदूतका भविष्यका गतिविधिले यो प्रश्नमा जवाफ दिने नै छ । तर फागुन दोस्रोसाता नेपालमा अमेरिका र चीनका प्रतिनिधिले गरेको वाकयुद्धले सकारात्मक सन्देश भने दिँदैन ।

अन्तर्राष्ट्रियस्तरमा जस्तोसुकै प्रतिस्पर्धा भएपनि नेपालभित्रै दुवै देशले सहकार्य गर्दै समृद्ध नेपाल निर्माणमा साझेदारी गरुन् भन्ने नेपाल सरकारको चाहना स्पष्ट छ । कूटनीतिक सम्बन्धको संवेदनशीलता ख्याल गर्दै नेपाल सरकारले ‘ब्रेक थ्रू’ कार्यक्रममा आयोजनास्थलमा दुवै राजदूतलाई स्थान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement