सभामुखले आफ्नो गल्ती नसच्याएसम्म संसद चल्दैन : शान्ता चौधरी (अन्तर्वार्ता)


काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभाको नवाैं अधिवेसन प्रभावित बनेको छ । सभामुखले पक्षपात गरेको भन्दै बैठकको सुरुवातदेखि नै एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहेको छ । एमालेको अवरोधकैबीच केही विधेयक स्वीकृत भएपनि सदन सहजरुपमा चल्न सकेको छैन् ।

एमालेले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले संरक्षण गरेर एमाले फुटाउन भुमिका खेलेको भन्दै प्रतिपक्ष एमालेले सभामुखको विरोध गरिरहेको छ । संसदीय अभ्यासमै पहिलोपटक सभामुखको भुमिकालाई लिएर संसद अवरुद्ध भएको जानकारहरु बताउँछन् । सभामुख सापकोटाले संसदलाई सहज तरीकाले संचालनका लागि सर्वदलिय बैठक आह्वान गरेपनि एमालेले सर्वदलिय बैठक नै बहिस्कार गरेको छ ।

सभामुख सापकोटाले एमालेलाई संविधान र कानुन अनुसार अगाडी बढेको बताए पनि एमालेले सभामुख कानुन विपरीत गएको आरोप लगाएको छ । १४ जना सांसदलाई कारवाही गर्नुपर्ने एमालेको अडान कायमै छ । जवसम्म माग पुरा हुँदैन तवसम्म सदन सुचारु गर्न नदिने एमालेको रणनीति छ । प्रस्तुत छ सोही विषयमा केन्द्रीत भएर एमालेका सचेतक शान्ता चौधरीसंग गरिएको कुरानानीको सम्पादित अंशः

जनताको जनजिविकाका बिषयमा छलफल गर्ने थलो नै बन्द गर्नुभयो ?

अब एउटा कुरा त के बुझ्न जरुरी छ भने संसद अवरुद्ध नेकपा एमालेका कारण होइन त्यो सभामुखका कारण हो । त्यो सत्ता पक्षका कारण हो । प्रतिपक्षले सकारात्मक ढंगले रचनात्मक सहयोग गर्दै आएको छ । तर सभामुखले अहिले जसरी पक्षपातपूर्ण ढंगले प्रतिपक्षसंग पूर्वाग्रही ढंगले अगाडी बढ्नुभएको छ । प्रमुख प्रतिपक्ष सत्तापक्ष र सभामुखले पेल्दै जाने ? भनिन्छ नि संसद प्रतिपक्षको हो भनेर तर यहाँत कुनै सम्वाद छैन ,कुनै सहकार्य छैन , कुनै सम्झौता छैन कुनै सल्लाह छैन जसरी पेलेर जाने कोसीस गर्नुभएको छ त्यसकारण संसद अवरुद्ध भएको हो ।

केपी शर्मा ओलीले जुन दुई दुई पटक संसद विघटन गर्नुभयो अहिले तपाईहरु प्रतिपक्षमा बसेर संसदको औचित्य छैन भनेर पुष्टि गर्न खोज्नुभएको हो ?

अब एउटा कुरा त के हो भने आरोप कसले लगायो भन्ने कुरा हो । त्यो जनताले आरोप लगाएको हो भने त स्वीकार गर्न सकिन्छ तर हाम्रा विरोधिहरुले लगाएको आरोप त कसरी स्वीकार्न सकिन्छ र ?विरोधिहरुले त जे पनि आरोप लगाउँछन् नि । कि त जनताले आरोप लगाउनुपर्‍यो । विरोधिहरुका आरोपलाई हामीले आरोप ठान्दैनौँ । विरोधिहरुको आरोप हामी मान्दा पनि मान्दैनौँ । जनताले हामीलाई आरोप लगाएका छैनन्, जनता हाम्रो पक्षमा छन् । अव कुरा आयो संसद विघटनको, संसद विघटन त्यतिबेलाको परिस्थिति त्यतिबेलाको अवस्था त्यस्तै थियो । जव जनताकाबीच जाउँ भन्ने कुरा प्रतिगमन भयो । अनि त्यसपछि जनताको बिचमा जाउँ भन्ने कुरा गलत भयो । त्यो कदापि स्वीकार्न सकिँदैन ।

तपाईहरुले गरेका सबै ठिक अरुले गरेको त्यही काम बेठिक हो ?

गलत ,त्यो पनि गलत हो । त्यो बेला संसद विघटन गरेका कुरा अहिले आएर सोध्न कत्तिको उपयुक्त हुन्छ त्यो आफैंले बिचार गर्ने कुरा हो ।

दुरदराजका जनताले आफ्ना समस्यामाथी संसदमा छलफल भएको कहिले हेर्न सुन्न र महसुस गर्न पाउलान ?

सभामुखले त्यो वातावरण बनाउने हो ।हामीले बनाउने होइन । संसदलाई कसरी मर्यादित बनाउने भन्ने कुरा त सभामुख र सरकारले बुझ्ने कुरा हो नी । अहिले हामीसंग के छ र ? न हामी सरकारमा छौँ न सभामुख नै हाम्रो छन् । त्यसैले यो बिषय हामीले भन्दापनि सरकार र सभामुखले सोच्ने बिषय हो ।

त्यसो भए संसदको अवरोध कहिले हट्छ त ?

मैले भनेनी जवसम्म हाम्रो मागको सुनुवाइृ हुदैन , पेलेर जाने अवस्थाको अन्त्य हुँदैन तबसम्म हाम्रो विरोध रहिरहने छ । तपाई आफै हेर्नुहोस् न प्रमुख प्रतिपक्षीको कुरा सुनुवाइ हुन्छ । न कार्यव्यवस्थाको बैठक बस्छ यस्तो पनि हुन्छ ? प्रतिपक्षलाई उपेक्षा गरेर अगाडी बढ्न मिल्छ ? लोकतान्त्रिक अभ्यास यही हो ? त्यसैले हामीले सुरुदेखिनै भन्दै आएका छौँ सभामुखले आफ्नो गल्ती सच्याएर संसदलाई सहजरुपमा संचालन हुने वातावरण तयार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement