एकल वाचनमा सुनिए ‘लक्ष्मी निरौला’


काठमाडौं – कवि एवं गजलकार लक्ष्मी निरौलाको एकल कविता वाचन हालै साँस्कृतिक संस्थानको सभाकक्षमा सम्पन्न भएको छ । हालसम्म निजी संघ संस्था तथा केही व्यक्ति विशेषले मात्रै एकल कविता वाचनको कार्यक्रम आयोजना गर्दै आएकोमा उनको यो कार्यक्रमसँगै संस्थानले हरेक महिनाको तेस्रो शुक्रबार नियमित रुपमा विभिन्न प्रतिभाहरुलाई उतारेर एकल कविता वाचन कार्यक्रमलाई निरन्तरता दिने घोषणा संस्थानका महाप्रवन्धक राजेश थापाले गरेका थिए ।

सांस्कृतिक संस्थानले पहिलो पटक आयोजना गरेको एकल कविता वाचनमा कवि निरौलाले सहयोगी कविहरुका साथ वि.सं. २०४२ देखि हालसम्म रचना गरेका आफ्ना एक दर्जन कविता तथा गजल सुनाएका थिए । राष्ट्रिय भावना, समसामयिक राजनीतिक परिदृश्य तथा माया प्रेमले भरिएका उनका कविता तथा गजलहरुले कार्यक्रममा स्रोताको मन जितेका थिए ।

कार्यक्रममा नीलो दह र तिमी आऊ शीर्षकका दुई वटा कविता तथा चार वटा गजल उनले आफैँ वाचन गरेका थिए । गजल गायनमा वरिष्ठ गायिका लोचन भट्टराई, इन्दु अंशु र छत्र लामाले उनलाई साथ दिएका थिए भने कविता वाचनमा प्रभाति किरण, नारायण निराशी र प्रतिरोध कार्कीले सघाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका स्रष्टा एवं नाट्य कला प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले संस्थानले यस्तो कार्यक्रम शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै स्रष्टा निरौलाको सिर्जना यात्राको सफलताको कामना गरे । संस्थानका अध्यक्ष उद्योग राईको अध्यक्षता तथा कवि डा. देवी नेपालको सञ्चालनमा भएकोे उक्त कार्यक्रममा वाचित कवितामाथि डा. विन्दु शर्माले सामालोचनात्मक टिप्पणी राखेकी थिइन् भने शोभा खतिवडा काफ्लेले कविको परिचय गराएकी थिइन् ।

४० को दशकदेखि नेपाली काव्य साहित्यका उदाएका निरौलाका सयौँ फुटकर कविता प्रकाशित भएका छन्् । अब्बल वाकपटुता र प्रभावकारी वाचन शैलीका धनी कवि निरौलाको ‘प्रेरणाको धुन’ गजल संग्रह प्रकाशित भैसकेको छ भने दर्जनौ गीत र गजलहरु गाइएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement