‘ब्लु डायरी’ लेखक र पाठकको कथामा बुनिएको छः कृष्ण आचार्य (अन्तर्वार्ता)


काठमाण्डु – लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ शनिबार सार्वजनिक हुँदैछ । पहिलो उपन्यास ‘अप्रिल फुल’को सफलतापछि आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक हुन लागेको हो ।

लेखक र पाठक मुख्य पात्र रहेको उपन्यासले उनीहरुमार्फत युवा, उसको सपना, सफलतादेखि मानिसको जीवनको गहिराई र सामाजिक परिवेशका विविध आयामहरु केलाउने प्रयास गरेको छ । प्रस्तुत छ ‘ब्लु डायरी’बारे उनै आचार्यलाई सोधिएका ५ प्रश्नः

ब्लु डायरी कस्तो उपन्यास हो ?

याे उपन्यासले प्रेम, जीवन र दर्शन बोकेको छ ।

यसको कथाबस्तु कस्तो खालको छ नि ?

खासमा लेखक र पाठकको कथामा यो उपन्यास बुनिएको छ । अर्थात, लेखक र पाठक मुख्य पात्र रहेको उपन्यासले उनीहरुमार्फत युवा, उसको सपना, सफलतादेखि मानिसको जीवनको गहिराई र सामाजिक परिवेशका विविध आयामहरु केलाउने प्रयास गरेको छ । जहाँ प्रकृति प्रेम पनि पाउन सकिन्छ ।

लेखक र पाठकको कथा भनेपछि त नेपाली साहित्यमा नयाँ प्रयोग गर्नुभएछ होइन ?

मिहिन ढंगले लेखक र पाठकको कथा समेटिएका पुस्तक यसअघि पनि नआएका होइनन् । तर, उनीहरुलाई नै मुख्य पात्र बनाएर लेखक र पाठकको भावना र जीवन समेट्ने प्रयास मैले गरेको छु । जसमार्फत पाठकहरुले पुस्तकमा आफू र आफ्नो समाजलाई पाउनुहुनेछ ।

पहिलो उपन्यास आएको ३ वर्षपछि अर्को पुस्तक निकाल्नुभयो । पाठकले धेरै अपेक्षा गरेका छन् नि ?

मलाई विश्वास छ, पाठकको त्यो अपेक्षा मैले पुरा गरेको छु । यतिका समयको पर्खाइ पक्कै पनि सुखद् नै हुनेछ भन्ने मेरो विश्वास हो । योभन्दा बढी त पाठकले पुस्तक पढेपछि दिएको प्रतिक्रियाले नै जनाउला ।

पहिलो पुस्तक किशोर–किशोरी लक्षित थियो । यो कुन उमेर समूह लक्षित छ ?

साहित्यको कुनै परिधि हुँदैछ । नेपाली साहित्यमा हेर्ने हो भने बाल्यकालमा आधारित कथाहरु कोरिएका साहित्य धेरै रुचाइएका छन् । यसको मतलब यो होइन कि ती पुस्तक बालबालिकाका लागि लेखिएका हुन् । त्यस्तै, किशोर होस्, बयश्क होस् या बृद्दि यदि उसको पठन रुचि छ या विषय तथा सन्दर्भहरुमा रुचि देखिएको छ भने जसले जुनसुकै पुस्तक पनि पढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement