काठमाण्डु – नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ ।
प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत सुरु गरेको हो ।
सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित, पारदर्शी र व्यवस्थित बनाउन स्वचालित प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ । नयाँ प्रणालीसम्बन्धी जानकारी दिन असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ । त्यसपछि सर्भेयरलाई पनि प्रणालीसम्बन्धी तालिम दिइनेछ । पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।
नयाँ प्रणालीमा सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियो लगायतका आधारमा सर्भेयर छनोट गरिनेछ । हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको तथा एउटै सर्भेयरले बढी र अरूले कम काम पाउने गरेको गुनासो आउने गरेको अवस्थामा स्वचालित प्रणाली उपयोगी हुने प्राधिकरणको विश्वास छ ।
हाल व्यक्तिगत सर्भेयरले ५ वटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ । तर उनीहरूले पाएको कामको प्रभावकारी तथ्यांक राख्न कठिन भइरहेको अवस्थालाई समेत प्रणालीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । हाल प्रणालीमा ८८ जना संस्थागत सर्भेयरसहित कुल ६८० सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ ।
बीमा कम्पनीहरूले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको प्राधिकरणले जनाएको छ । यही अवस्थालाई सुधार गर्दै सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले स्वचालित प्रणाली विकास गरिएको छ ।
प्राधिकरणका अनुसार प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि पाएको काम लगायतका विवरण राख्ने काम पूरा भएको छ । कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित ‘केस’का लागि उपयुक्त सर्भेयर छनोट गर्ने काम प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ ।
उदाहरणका रूपमा कुनै सवारी दुर्घटनासम्बन्धी दाबी आएमा त्यस विषयमा विज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ । यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्था घट्नेछ ।
प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आइटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो । प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका आधार तथा प्यारामिटर तयार गरी सफ्टवेयर विकासको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
अहिले बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन् । प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ । प्राधिकरणले फायरवाल, भीएपीटीपी लगायतका सुरक्षा परीक्षणसमेत गरिने जनाएको छ ।
नयाँ प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्ने भएकाले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरले पर्याप्त अवसर नपाउने अवस्थालाई पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।
सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने विवरणसमेत प्रणालीबाट ट्रयाक गर्न सकिनेछ । यसबाट सर्भेयरको कार्यभार व्यवस्थापन तथा काम बाँडफाँटलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणका अनुसार प्रणाली सञ्चालनमा आएपछि बीमा दाबी प्रक्रियामा लाग्ने समय र लागत घटाउनसमेत सहयोग पुग्नेछ । सर्भेयर छनोटमा देखिने समस्या, पुन: मूल्यांकन गर्नुपर्ने अवस्था, दाबी प्रक्रियामा हुने ढिलाइ तथा ग्राहकसँग सम्बन्धित विवाद समाधानमा पनि यसले सहजता ल्याउने अपेक्षा गरिएको छ ।
घटनाअनुसार उपयुक्त सर्भेयर छनोट हुने भएकाले यस्ता समस्या कम हुने र समय तथा लागत बचत हुने प्राधिकरणको भनाइ छ । कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरण प्रणालीमा रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने जनाइएको छ ।
दीर्घकालमा प्रणालीमार्फत सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांकसमेत संकलन हुने प्राधिकरणले जनाएको छ । यस्तो तथ्यांकले सर्भेयरसम्बन्धी नीति निर्माणमा सहयोग पुग्नुका साथै सर्भेयरको सेवा प्रवाह र सेवाग्राहीले प्राप्त गरेको सेवाको अवस्थासमेत अध्ययन गर्न सकिने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया