जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुन:स्थापनामा सरकारको चासो

जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुन:स्थापनामा सरकारको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको उपचार तथा पुन:स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

मन्त्रीहरूले अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था, उपचारको प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिएका थिए ।

उनीहरूले शान्तनुका बुवासँग भेटी उपचारका क्रममा परिवारले भोग्नुपरेका समस्या र आवश्यकताबारे समेत जानकारी लिएका थिए । सो अवसरमा मन्त्री बादीले शान्तनुको उपचारसँगै उपचारपछिको पुन:स्थापना र परिवारको भविष्यलाई समेत सरकारले प्राथमिकतामा राख्ने बताइन् ।

उनले परिवारको रोजगारी, शिक्षाको निरन्तरता र अन्य आधारभूत आवश्यकताका विषयमा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले उपचारका क्रममा आवश्यक पर्न सक्ने थप शल्यक्रिया र अन्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले सहयोग तथा समन्वय गर्ने बताइन् ।

मन्त्रीद्वयले शान्तनुको उपचारपछि सम्मानजनक जीवनयापन र सामाजिक पुन:स्थापनाका लागि पनि सम्बन्धित निकायबीच समन्वय गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।