मन्त्री बन्न किन चाहँदैनन् योगेश भट्टराई ? जोखिम देखेपछि ओलीको प्रस्ताव अस्वीकार


काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता योगेश भट्टराई मन्त्री बन्ने विषयमा पटक–पटक चर्चा हुने गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनताका नै ताप्लेजुङमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए । तर भट्टराई ओली सरकारमा मन्त्री बनेनन् ।

पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चासँगै भट्टराई मन्त्री बन्ने चर्चा चलेको छ । बाह्य चर्चासँगै प्रधानमन्त्री ओलीको सन्देश बोकेर पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भट्टराईलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न प्रस्ताव गरे । तर भट्टराईले उक्त प्रस्ताव अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार ओलीले भट्टराईलाई सञ्चार मन्त्री र बहालवाला सञ्चारमन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन चाहेका छन् । सोही प्रस्ताव पूर्वसभामुख नेम्वाङले भट्टराईसँग राखेका थिए । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालयको नेतृत्व खाली रहेको छ ।

सञ्चारमन्त्री बन्न आएको प्रस्ताव नेता भट्टराईले किन अस्वीकार गरे त ? स्रोतका अनुसार भट्टराईले आफू निकटसँग भन्ने गरेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय ठीक छैन । अहिले मन्त्री बन्यो भने प्रधानमन्त्रीको सचिवालयबाट हस्तक्षेप गरेर असफल बनाइदिन्छन् ।’

नेता भट्टराईले देखेको जोखिम बहालवाला कतिपय मन्त्रीले भोगिरहेका छन् । मन्त्रालयका सचिव सरुवादेखि ठूला योजनामा प्रधानमन्त्रीको सचिवालयबाट अनावश्यक हस्तक्षेप हुने गरेको छ । जसका कारण मन्त्रीहरूले काम गर्न नसकेको टिप्पणी समेत हुने गरेको छ ।

नेता भट्टराईलाई मन्त्री बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सकारात्मक थिए । केही महिनाअघि प्रचण्डले सार्वजनिक कार्यक्रममै भट्टराईलाई मन्त्री बनाएर वाचा पूरा गर्ने बताएका थिए । भट्टराई वरिष्ठ नेता माधवकुमार नेपाल निकट भएकाले आन्तरिक शक्ति सन्तुलन मिलाउन पनि प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाउन खोजिएका छन् । 

भट्टराई सरकार र पार्टीका संस्थागत निर्णयमा कटिवद्ध भएर लागेका कारण पनि ओलीले उनलाई मन्त्री बनाउन चाहेका छन् । सरकारविरुद्ध अनशन गरेका डा. गोविन्द केसीलाई गलाउन र सरकारको पक्ष बलियो पार्न भट्टराईले राम्रो भूमिका खेलेको नेकपा पंक्तिभित्र चर्चा छ । 

मन्त्री बन्न आएको प्रस्तावलाई भट्टराईले अस्वीकार गर्नुलाई गम्भीर रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले हस्तक्षेप गर्ने र काम गर्न नदिएपछि असफल भइने जोखिम देखेपछि भट्टराई तत्काल मन्त्री बन्न राजी भएका छैनन् । ओलीको सचिवालय परिवर्तन भएपछि वा प्रधानमन्त्री नै अर्काे आएपछि भट्टराई मन्त्री बन्नसक्ने उनी निकटहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement