काठमाण्डु जिल्ला भरका पालिकामा गठबन्धन र एमालेवीच हुन सक्छ नजिकको प्रतिस्पर्धा


काठमाण्डु – काठमाण्डु मतदाता संख्याका आधारमा नेपालकै दोस्रो ठूलो जिल्ला हो । मोरङपछि काठमाण्डु जिल्लामा बढी मतदाता छन् । यहाँ एक महानगरसहित ११ वटा स्थानीय तह छन् । अन्य सबै नगरपालिका हुन् । देशको संघीय राजधानीसमेत रहेकाले काठमाडौंको चुनावमा धेरैको चासो हुन्छ ।

काठमाडौं जिल्लामा ०७४ सालको चुनावमा एमालेले वर्चस्व कायम गरेको थियो । कांग्रेसले पनि सन्तोषजनक परिणाम ल्याउँदा माओवादी भने शून्यमा झरेको थियो । जिल्लाका अधिकांश स्थानीय तहमा आगामी चुनावमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, धेरै ठाउँमा माओवादी निर्णायक शक्ति बनेको छ । केही पालिकामा राप्रपाको पनि उल्लेख्य मत छ ।

सबभन्दा पहिले अघिल्लो चुनावको परिणाम हेरौँ– एमालेले ११ तहमध्ये काठमाडौं महानगरसहित सातवटामा मेयर–उपमेयर नै जित्यो । त्यसबाहेक उसले थप दुई उपमेयरमा पनि सफलता पायो । कांग्रेसले चारवटा पालिकामा मेयर र दुईवटामा उपमेयर जित्यो । एमालेले काठमाडौं महानगरपालिका, कागेश्वरी–मनोहरा, कीर्तिपुर, टोखा, तारकेश्वर–बुढानीलकण्ठ र शंखरापुर नगरपालिकामा मेयर–उपमेयर नै जितेको थियो । त्यसबाहेक उसले चन्द्रागिरि र नागार्जुन नगरपालिकामा उपमेयर पनि जित्यो । कांग्रेसले दक्षिणकाली र गोकर्णेश्वर नगरपालिकामा मेयर–उपमेयर जित्यो भने चन्द्रागिरि र नागार्जुन नगरपालिकामा मेयर मात्रै जित्यो ।

गत चुनावमा काठमाडौंमा दलहरूबीच तालमेल भएको थिएन । अधिकांशमा माओवादीले उल्लेख्य मतसहित तेस्रो स्थान हासिल ग¥यो । यदि त्यसलाई आधार मान्ने हो भने आगामी चुनावमा माओवादीको मत नै निर्णायक देखिन्छ । यदि कांग्रेस र माओवादीबीच तालमेल भयो भने काठमाडौं महानगर र बुढानीलकण्ठबाहेक सबै पालिका एमालेले गुमाउन सक्छ । किनकि गत चुनावमा यी दुई दलको मत जोड्दा एमालेको भन्दा धेरै हुन्छ । गठबन्धन भएन भने अवस्था पहिलेकै जस्तो हुन सक्छ । एमालेले थोरै मतले जितेका केही पालिका पार्टीमा आएको विभाजनका कारण भने गुमाउन सक्छ । केही स्थानीय तहमा एकीकृत समाजवादीको पनि प्रभाव देखिन्छ ।

काठमाडौं महानगर र बुढानीलकण्ठमा भने मतान्तर धेरै छ । विभाजनले पनि उसलाई धेरै असर नगर्न सक्छ । यद्यपि, दलहरूले कस्ता उम्मेदवार अघि सार्छन् भन्नेले पनि यसमा ठूलो अर्थ राख्नेछ । अर्को महत्वपूर्ण फ्याक्टर एमालेले राप्रपा नेपालसँग तालमेल गर्ने निर्णय गरिसकेको छ । यसले पनि उसलाई पुरानो नतिजा जोगाउन केही सहयोग गर्नेछ ।

यदि काठमाडौं जिल्लाका स्थानीय तहमा एमालेलाई हराउने हो भने कांग्रेस र माओवादीको बीचमा समीकरण नै मुख्य फ्याक्टर हुनेछ । तर, यी दलबीच सवै पालिकामा तालमेलको टुंगो अझै लाग्न सकेको छैन ।

यसबीचमा थपिएका मतदाताका कारण पनि नतिजा तलमाथि हुन सक्नेछ । समग्रमा एमालेलाई पहिले जितेका पालिका बचाउनुपर्ने चुनौती देखिन्छ । एमाले फुटेकाले कांग्रेस अलि सहज अवस्थामा छ । तालेमल भएन भने माओवादी फेरि पनि शून्यकै अवस्थामा रहन सक्छ । काठमाडौं जिल्लामा यसपटक ६ लाख ३७ हजार ७ सय ७५ मतदाता छन् । ती मध्ये ३ लाख ८ हजार २ सय २१ पुरुष र ३ लाख २९ हजार ५ सय ४५ महिला छन् । ९ जना अन्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement