तुलसीपुर उपमहानगर : कांग्रेस र माओवादी मिलेमा एमालेलाई कठिन, एमालेभन्दा कांग्रेसमा धेरै आकांक्षी


काठमाण्डु – नेपालमा हाल जम्मा ११ वटा उपमहानगर छन् । तीमध्ये तीनवटा जिल्लामा दुई–दुई उपमहानगर छन् । दाङ पनि दुई उपमहानगर भएको जिल्ला हो । यसैमध्येको एक हो– तुलसीपुर उपमहानगरपालिका । गत चुनावमा यो उपमहानगरमा एमालेले जितेको थियो ।

आगामी वैशाख ३० गतेका लागि तोकिएको चुनावमा कसले बाजी मार्ला त भन्ने चर्चा चल्न थालेको छ । आकांक्षीहरू खुल्न थालेका छन् । यो उपमहानगरमा मुख्य रूपमा एमाले र कांग्रेस नै प्रतिस्पर्धी देखिन्छन् । तर, माओवादी निर्णायक अवस्थामा छ ।

गत चुनावको परिणाम

०७४ सालको चुनावमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डे विजयी भए । उनले २२ हजार आठ सय ५७ तथा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार नौ सय तीन मत पाए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका शेषुराम भण्डारीले आठ हजार ६ सय ९२ मत पाए ।

उपमेयरमा एमालेकै माया शर्मा २१ हजार ३७ मत पाएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका नेपाली घिमिरेले १८ हजार नौ सय तीन तथा माओवादी केन्द्रकी सीता वलीले नौ हजार ५१ मत पाइन् । १९ वडा रहेको उपमहानगरमा तल पनि एमालेले वर्चस्व कायम ग¥यो । १२ वटा वडाका अध्यक्षमा एमालेले जित्यो भने कांग्रेसले सातवटामा चित्त बुझायो । माओवादीले एउटै वडा जित्न सकेन ।

सम्भावित समीकरण र भावी परिणामको आकलन

तुलसीपुरमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदा माओवादी निर्णायक स्थानमा देखिन्छ । विगतको मतपरिणाम हेर्दा माओवादीसँग मिल्ने दलले नै आगामी चुनावमा बाजी मार्ने स्पष्ट छ । एक्लाएक्लै चुनाव लड्ने अवस्था भयो भने फेरि पनि एमाले नै अगाडि हुन सक्छ । तर, अहिले कांग्रेस र माओवादीको बीचमा तालमेलको प्रयास भइरहेको देखिन्छ । यदि त्यसो भयो भने एमाले संकटमा पर्नेछ । किनकि कांग्रेस र माओवादी मिल्दा एमालेको भन्दा निकै बढी मत हुनेछ ।

यो नगरमा तीन दलबाहेक अन्यको खासै प्रभाव छैन । एमाले विभाजनको प्रभाव सामान्य देखिन्छ । एमालेका केही मत एकीकृत समाजवादीले पनि काट्नेछ । समग्रमा तुलसीपुरको भावी परिणाम स्पष्ट देखिन्छ । सत्तासाझेदार दलबीच तालमेल नभए एमालेले जित्ने सम्भावना बढी छ । नत्र गठबन्धनले जित्नेछ । गठबन्धन हुँदा कांग्रेसले मेयर माओवादीले उपमेयर पाउने निश्चित छ । थपिएका मतदाता र उम्मेदवारको प्रभावले पनि परिणाम प्रभावित हुन सक्नेछ । किनकि यो उपमहानगरमा धेरै मतदाता थपिएका छन् ।

सम्भावित उम्मेदवार

हालका मेयर घनश्याम पाण्डेले फेरि आकांक्षा नराखेपछि एमालेमा निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्का मेयरको उम्मेदवारका लागि मुख्य दाबेदार देखिन्छन् । लामो समयदेखि पार्टीमा सक्रिय भए पनि उनले अहिलेसम्म राजकीय पद पाएका छैनन् । एमालेबाट विनोद शर्मा, कृष्ण भुसाल, हालकी उपमेयर माया आचार्यले पनि आकांक्षा राखेका छन् । कांग्रेसबाट अघिल्लोपटकका उम्मेदवार गेहेन्द्र गिरी, युवा नेता विमल रिजाल, पार्टीका नगर सभापति सुरेश हमाल, घनश्याम रेग्मी, नहकुल केसी, कीर्तिबहादुर खड्कालगायतको चर्चा छ । यद्यपि, गिरीले दाबा गरे अन्य सबै पछि हट्न सक्छन् ।

माओवादी केन्द्रबाट पहिलेकै उम्मेदवार शेषुराम भण्डारी, तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली ‘प्रभात’, केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, तुलसीपुर नगर सहइन्चार्ज चित्रबहादुर खड्का ‘अनुपम’, प्रदेश कमिटी सदस्य मीना बुढालगायतको नाम चर्चामा छ । यद्यपि, कांग्रेससँग तालमेलका लागि प्रयास भइरहेकाले माओवादीका आकांक्षी खुलेका छैनन् । सुरेश हमाल, विमल रिजाल तथा गेहेन्द्र निकट पनि छन् । गेहेन्द्रले उठ्ने इच्छा व्यक्त गरे सबैले समर्थन गर्न सक्ने आकलन गरिएको छ ।

मतदाता

तुलसीपुर उपमहानगरपालिकामा मतदाताको संख्या एक लाख सात हजार ६ सय ७७ पुगेको छ । तीमध्ये पुरुष ५२ हजार एक सय ३३ र महिला ५५ हजार पाँच सय ४३ छन् । उपमहानगरमा ३० हजार सात सय ८४ मतदाता बढेका छन् । ०७४ सालमा ७६ हजार नौ सय ९३ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement