विराटनगर महानगरमा कांग्रेस बलियो, आगामी चुनावमा कसले मार्ला बाजी ?


काठमाण्डु –  विराटनगर महानगरपालिकामा कांग्रेसको सांगठनिक आधार मजबुत छ । गत स्थानीय चुनावमा उसले फराकिलो अन्तरले जित निकालेको थियो । यसपटक पनि कांग्रेस बलियो छ । विराटनगरमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै बीचमा हुने देखिन्छ ।

माओवादी र मधेसकेन्द्रित दल पनि निर्णायक हुन सक्छन् । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर मेयर बने । फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको एमालेका विनोद ढकालले १७ हजार तीन सय २१ मत पाए । माओवादीसँग गठबन्धन गरेका संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार नौ सय ५८ तथा राप्रपाका प्रह्लादप्रसाद साहले पाँच हजार पाँच सय २४ मत पाएका थिए ।

उपमेयरमा कांग्रेसकै इन्दिरा कार्की निर्वाचित भइन् । उनले तत्कालीन संघीय समाजवादी फोरमको सहयोगमा चुनाव लडेकी माओवादीकी नमिता न्यौपानेलाई आठ हजार ६ सय २२ मतको फराकिलो अन्तरले हराइन् । कार्कीले २० हजार एक सय ४६ मत ल्याउँदा न्यौपानेले ११ हजार पाँच सय २४ मत मात्रै पाइन् ।

एमालेसँग गठबन्धन गरेको फोरम लोकतान्त्रिककी उम्मेदवार सूची चौधरीले १० हजार पाँच सय ३६ मत ल्याइन् । राप्रपाकी शोभा श्रेष्ठको मत चार हजार एक सय दुई आयो । कांग्रेसले सबैभन्दा धेरै वडाध्यक्ष जित्यो । १९ वटा वडा रहेको विराटनगरका सात वडामा कांग्रेस, पाँच वडामा संघीय समाजवादी फोरम, तीन वडामा एमाले, दुई वडामा स्वतन्त्र र एउटा वडामा माओवादीले अध्यक्ष जिते । एउटा वडा जितेको फोरम लोकतान्त्रिक पछि कांग्रेससँग मिल्यो । स्वतन्त्र रूपमा जितेका दुई वडाध्यक्ष पनि कांग्रेसकै बागी हुन् ।

सत्तारूढ पाँचदलीय गठबन्धनबीच तालमेल भए अन्य दल विराटनगरमा प्रतिस्पर्धाबाट बाहिरिनेछन् । तर, कांग्रेस पहिलेजस्तै एक्लै चुनावमा गयो भने भन्न सकिन्न । ०७४ सालको चुनावपछि फोरम लोकतान्त्रिकसँग एकता गरेर कांग्रेस थप मजबुत भएको छ । उसका प्रतिस्पर्धी मुख्य दल एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन् ।

सत्तासाझेदार दलबीच सहमति भयो भने ठूलो अन्तरले चुनाव जित्ने सम्भावना छ । एमालेले राप्रपासँग तालमेल गर्न प्रयास अघि बढाएको छ । तर, त्यसको फाइदा कति हुन्छ भन्न सकिँदैन । विराटनगरमा एमाले विभाजनको असर पनि धेरै परेको छ । एकीकृत समाजवादीले वडा तहसम्म संगठन विस्तार गरेको छ । विराटनगर महानगरमा कांग्रेस निकै बलियो देखिन्छ ।

मतदाता संख्या

विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा १९ हजार तीन सय ८१ जना मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार यो महानगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता भएका छन् । ०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या एक लाख १३ हजार सात सय ६१ थियो ।

उम्मेदवारका आकांक्षी

महानगरको मेयरमा दाबी गर्नेमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि केन्द्रीय नेतासमेत छन् । हालका मेयर भीम पराजुली, मोरङका पार्टी उपसभापति नागेश कोइराला, संघीय सांसद डिला संग्रौला, उपमेयर इन्दिरा कार्की, नगर सभापति दीपक चापागाईं, केन्द्रीय सदस्य अमृत अर्याल, महानगरका पूर्वकार्यकारी अधिकृतसमेत रहेका गोपाल रेग्मीलगायतले मेयरमा दाबेदारी गरेका छन् ।

एमालेबाट स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य रामलाल साह, मोरङका पार्टी उपाध्यक्ष बाबुराम कार्की, विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, युवा नेता परशुराम बस्नेतलगायतले आकांक्षा देखाएका छन् । माओवादीबाट भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपानेको नाम मेयरको लागि चर्चामा छ ।

जनता समाजवादी पार्टीबाट नेता उमेश यादव, भूराज राई, तेजलाल कर्ण, भरत दाहाललगायत अघि सरेका छन् । यस्तै, एकीकृत समाजवादीबाट महेश रेग्मी र पारुल क्षेत्री पनि मेयरको उम्मेदवारका रूपमा चर्चामा छन् । तर, दलहरूबीच तालमेल भए को उम्मेदवार हुन्छ भन्ने यकिन गर्न अहिले गाह्रो छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement