दलबदलको होड चलिरहेको वीरगन्ज महानगरपालिकामा यसपटक कसले बाजी मार्ला ?


काठमाण्डु – मुलुकको आर्थिक राजधानी वीरगन्जमा पनि चुनावी माहोल तातेको छ । चुनाव नजिकिँदै गर्दा नेताहरूको दलबदल पनि चलिरहेको छ । आज एउटा पार्टीमा भएको नेता भोलि अर्को पार्टीमा लागेको खबर आम नागरिकले सुनिरहेका छन् ।

जनता समाजवादी पार्टीका मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा गएका छन् । गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको वीरगन्ज महानगरमा यसपटक चौपक्षीय प्रतिस्पर्धाको सम्भावना छ । यो महानगरमा मधेसकेन्द्रित दलको वर्चस्व छ । कांग्रेस पनि मजबुत छ । अन्य दल कमजोर देखिन्छन् ।

अघिल्लो चुनावको अंकगणित

गत चुनावमा वीरगन्ज महानगरपालिकाको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी निर्वाचित भएका थिए । उनले कांग्रेसका अजयकुमार द्विवेदीलाई दुई हजार एक सय ९६ मतले पराजित गरे । सरावगीले १९ हजार तीन सय ९३ र द्विवेदीले १७ हजार एक सय ९७ मत ल्याएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२ हजार एक सय ६५ तथा लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले आठ हजार सात सय एक मत ल्याए ।

वीरगन्जमा एमाले र माओवादी केन्द्र पाँचौँ र छैटौँ स्थानमा रहे । एमाले उम्मेदवार बसरुद्दिन अन्सारीले आठ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहवर अन्सारीले आठ हजार तीन सय पाँच मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय सात मत पाएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी पिंकीदेवी यादवले १८ हजार पाँच सय ३० मत ल्याइन् ।

राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३, एमालेकी सोफिया आचार्यले १० हजार तीन सय ४१, लोकतान्त्रिक फोरमकी रिंकु यादवले सात हजार पाँच सय ८६ तथा माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले पाँच हजार २८ मत प्राप्त गरिन् । ३२ मध्ये १२ वडाका अध्यक्ष संघीय समाजवादी फोरम र १० मा कांग्रेसले अध्यक्ष जित्यो । एमाले पाँच, राजपा तीन तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक–एक वडामा अध्यक्ष जिते ।

राजनीतिक उथलपुथल र सम्भावित परिणाम

पाँच वर्षमा वीरगन्जमा उथलपुथल भएको छ । पार्टी परिवर्तन गर्ने होड नै चलेको छ । मेयरमा लडेका अधिकांश ठूला नेता अहिले पुरानो पार्टीमा छैनन् । संघीय समाजवादी फोरमबाट चुनाव जितेका विजयकुमार सरावगी जसपा हुँदै हालै एमालेमा प्रवेश गरेका छन् । तत्कालीन महन्थ ठाकुर नेतृत्वको राजपाबाट चुनाव लडेर तेस्रो बढी मत ल्याएका राजेशमान सिंह अहिले जसपामा प्रवेश गरेका छन् ।

तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा चुनाव लडेर चौथो बढी मत ल्याएका विमलप्रसाद श्रीवास्ताव लोसपामा गएका छन् । गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । एमाले विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बनेको छ ।

आगामी चुनावमा वीरगन्जमा दुईवटा गठबन्धनको सम्भावना छ । एकातिर सत्तासाझेदार दल र अर्कातिर एमाले नेतृत्वको गठबन्धन बन्ने संकेत देखिएको छ । सत्तासाझेदार दलबीच समीकरण भए वीरगन्ज महानगरको मेयर गठबन्धनको पक्षमा जाने लगभग निश्चित छ । गठबन्धन हुँदा जसपाले मेयर र कांग्रेसले उपमेयर पाउन सक्छ । विगतको परिणामका आधारमा हेर्दा अहिलेको जसपाले पाएको भोट १९ हजारभन्दा बढी, लोकतान्त्रिक फोरमको सहित कांग्रेसको भोट २५ हजारभन्दा बढी र माओवादीको आठ हजार हाराहारीमा छ ।

यो जोड्दा ५३ हजारभन्दा बढी हुन्छ । तत्कालीन राजपाले पाएको १२ हजार पूरै र एमालेको आठ हजार मान्दा पनि अर्को गठबन्धनमा २० हजार हाराहारी मात्रै हुन आउँछ । तर, केही हजार मत व्यक्तिगत रूपमा पनि यताउता हुन सक्छन् । तर, मूल रूपमा वीरगन्जमा चुनावी परिणामका लागि दलीय समीकरण नै मुख्य फ्याक्टर हुने देखिएको छ ।

मतदाताको संख्या

०७४ सालमा एक लाख आठ हजार पाँच सय एक मतदाता थिए । अहिले बढेर एक लाख २४ हजार ६ सय ४७ पुगेका छन् । वीरगन्जमा झन्डै १६ हजार मतदाता थपिएका छन् ।

मेयरका मुख्य दाबेदार

वीरगन्जको सबैभन्दा प्रभावशाली मानिएको जनता समाजवादी पार्टीले यसपटक राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । सिंह तत्कालीन राजपाबाट एमाले हुँदै हालै जनता समाजवादीमा प्रवेश गरेका हुन् । हालका मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेपछि सिंहले उक्त पार्टी छाडेर जसपा रोजेका हुन् । एमालेबाट भने सरावगी नै उम्मेदवार हुने लगभग निश्चित देखिएको छ । कांग्रेसबाट अजयकुमार द्विवेदी र राकेश सिंह दाबेदार छन् । मओवादीबाट रहवर अन्सारी र लोसपाबाट पुरुषोत्तमलाल झा उठ्ने सम्भावना छ । गठबन्धन भयो भने उम्मेदवार फेरिन सक्नेछन् ।

यो पनि पढ्नुहोस …

विराटनगर महानगरमा कांग्रेस बलियो, आगामी चुनावमा कसले मार्ला बाजी ?

को बन्ला पोखरा महानगरपालिकाको मेयर ? विगतको परिणाम र भावी नतिजाको विश्लेषण

ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा

भरतपुर महानगरपालिका जहाँ हारजितका यी हुनेछन् मुख्य ‘फ्याक्टर’

काठमाडौं महानगर :आगामी चुनावको विश्लेषण (इन्फोग्राफसहित)

प्रतिक्रिया दिनुहोस
Advertisement