पशुपतिको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

पशुपतिको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ। यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको छ।

चाँदीको जलहरीलाई फेरेर सुनको राख्‍न लागिएको हो। अहिलेको बजार मूल्यअनुसार उक्त जलहरी ९२ करोड रुपैयाँको हुने अनुमान गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए। जलहरी राख्‍न कोष सञ्चालक परिषद्ले कार्यविधिसमेत पारित गरेको छ। कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सहयोग गर्न सक्‍ने कार्यविधि बनाइएको छ।

जुन दिन सहयोग गर्ने हो त्यही दिन सुनको बजार भाउअनुसारको रकम बैंकमा दाखिला गर्नुपर्ने हुन्छ। शिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दुई वटा घैला पनि राखिने थापाले जानकारी दिए। ‘मन्दिरभित्र र बाहिर एकएक वटा राखिनेछ,’ थापाले भने, ‘घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिन्छ।’

घैलामा पैसा राख्ने दाताको रेकर्ड नहुने र बैंक दाखिला गरेर सुनका लागि सहयोग गर्नेको भने अभिलेख राखिने उनले बताए। पशुपतिमा रहेका चार भट्टले मात्रै जलहरी राख्ने काम गर्नुपर्छ। उनीहरूलाई यसका लागि तालिम दिइएको ढुंगानाले जानकारी दिए। याे समाचार कान्तिपुर दैनिकमा छ ।