चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित

चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका दुई ठूला विमानस्थल निर्माण प्रभावित भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ आफ्नो नयाँ वर्ष मनाएर फर्किन पाएका छैनन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आउनुपर्ने चिनियाँ पनि उतै रोकिएका छन्।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा चीनबाट फर्किनुपर्ने दक्ष जनशक्ति मात्रै होइन, आवश्यक सामग्रीसमेत रोकिएका छन्। यो विमानस्थलमा भौतिक संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी २० प्राविधिक चीनमै रोकिएका कारण काम प्रभावित भएको बताउँछन्। यहाँ प्राविधिकसहित ४० चिनियाँ काम गर्छन्। उनीहरूसँगै ८० नेपाली निर्माणमा खटिएका छन्।

उनका अनुसार उपकरण जडान गर्न ढिलाइ भएको छ। उपकरणहरूसमेत चीनबाट ल्याउनुपर्ने थियो। ‘आईसीबी वान’अन्तर्गत भइरहेको काममा टर्मिनल भवनमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ र धावनमार्गका लागि ‘लाइटिङ’ सामग्री चीनबाट ल्याउने हो। त्यहाँबाट हवाई उडान हुन नसक्दा उपकरण ल्याउन समस्या भएको उनी सुनाउँछन्।

उनका अनुसार अब समयमा काम सक्न गाह्रो देखिएको छ। विमानस्थलमा १३ प्रतिशत मात्रै काम बाँकी छ। निर्माण सम्पन्न गर्न मार्च ३१ सम्मका लागि चौथो पटक म्याद थपिएको छ।

यस्तै, पोखरा विमानस्थल फिनिसिङको काम गर्न सय जना चिनियाँ फेब्रुअरी ५ मा आइपुग्ने तालिका थियो। चीन सरकारले आउजाउमा रोक लगाएपछि उनीहरू उतै रोकिएका छन्। एयर ट्राफिक टावर, टर्मिनल, हेंगरलगायत भवन फिनिसिङको काम, इक्विपमेन्ट इन्स्टल गर्ने प्राविधिकसहित विमानस्थलबाट मुख्य सडकसम्म जोड्ने रोड ढलान गर्ने मजदुर रोकिएको आयोजनाका प्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेल बताउँछन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

Skip This