कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो । यो समाचार आजको नयां पत्रिका दैनिकमा छ ।