काठमाडौं – महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले श्रम स्वीकृतिमा कडाइ गर्ने भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको हो ।
सोमबार सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित देशहरु चीन, दक्षिण कोरिया, बहराइन, इरान, जापानलगायत सिधैं तथा ट्रान्जिट भएर आउने विभिन्न ५ मुलुकका उडानहरु रोक्न परमादेश जारी गरेको थियो ।
श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आदेशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको बताए । उनले सर्वोच्चको लिखित आदेश मगाइएको र मंगलबार नै यसबारे निर्णय गर्ने बताए ।
भाइरसको जोखिम बढेपछि जोखिमयुक्त मुलुकहरुमा तत्कालका लागि श्रम स्वीकृति रोक्ने बारेमा छलफल हुँदैछ । रोक्ने निर्णय भने भइसकेको छैन,’ घिमिरेले भने ।
सोमबारमात्रै बहराइनमा रोजगारीका लागि हिडेका ३० जना नेपालीयुवाहरुलाई युएईबाट फिर्ता पठाइएको छ ।
वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।




प्रतिक्रिया