काठमाडाैं – साँघुरा सडकमा सवारी चापका कारण राजधानी काठमाडौंको जनजीवन समस्याग्रस्त बनेको छ । बढ्दो सहरीकरण र जनसंख्याको दरमा सडक निर्माण र विस्तार हुन नसक्दा दैनिक घन्टौँसम्म सवारी जाम हुने समस्या छ । सडक विस्तार ठप्प भइसक्यो, तर सवारीसाधन थपिने क्रम भने बढेको बढ्यै छ ।
बागमती अञ्चलमा पर्ने उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासका रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा ०७५ सम्म १२ लाख ५८ हजार दुई सय ५८ सवारीसाधन दर्ता भएका छन् । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षमा ९१ हजार तीन सय ३८ वटा गाडी दर्ता भएका छन् । यस आधारमा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका आठ जिल्लामा मात्रै १३ लाख ४९ हजार ६ सय एक सवारीसाधन दर्ता भएका छन् ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा मात्रै अहिले १२ लाख गाडी गुड्छन् । उपत्यका भित्रिने र बाहिरिने गाडीको संख्या पनि दैनिक १५ देखि २० हजारसम्म छ । दैनिक एक लाखसम्म यात्रुहरू आवतजावत गर्छन् । तर, उपत्यकामा अहिले सडक विस्तार भने हुन सकेको छैन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार उपत्यकामा कालोपत्रे एक हजार एक सय २४, गाभेल नौ सय १५ र कच्ची तीन सय ९१ सहित दुई हजार चार सय ३० किमि सडक रहेको छ । त्यसमध्ये रणनीतिक सडक चार सय ९८ किमि मात्रै छ ।
विभागले ०४६ सालमा सवारी दर्ता सुरु गर्दा एकै वर्ष ३४ हजार ६ सय ६ वटा सवारी दर्ता भएका थिए । तर, ०४७/४८ मा सवारी दर्ता संख्या पाँच हजार पाँच सय २७ मा झ-यो । त्यसपछिको करिब ३० वर्षमा सवारी दर्ता संख्या कहिल्यै ओरालो लागेको छैन ।यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।




प्रतिक्रिया