काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आफू एक योद्धा भएकाले कमाण्डर (प्रधानमन्त्री केपी शर्मा ओली) ले फिर्ता नबोलाएसम्म मैदानमै रहने बताएका छन् । बुधबार शीत्तल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएलगत्तै सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदबहाली गर्दै मन्त्री खतिवडाले युद्ध नजिती मैदानबाट फर्किने चाहाना नभएको प्रष्ट पारेका छन् ।
‘म विकास र सामाजिक न्यायको लडाकु हुँ’, उनले भने, ‘लडाकुका रुपमा कमान्डरले फिर्ता नबोलाएसम्म युद्ध मैदान छाड्ने कुरा हुँदैन ।’
उनले आफू एउटा योद्धकारुपमा मैदानमा लडिरहने जिकिर गरे । ‘एउटा योद्धा लडाँइमा त्यस बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमाण्डरले मैदानबाट फिर्ता लाँदैन । युद्ध नजिती मैदानबाट फर्किने मेरो चाहाना छैन ।’
उनले अहिले आफूले देशमा रहेको रोग, भोक, अन्याय, गरिबी र अभावसँग लडिरहेको पनि उनले बताए । ‘मुलुकको गरिबी अन्त्य नभएसम्म युद्ध चलिरहन्छ’, उनले भने, ‘तर त्यसको समयसीमा हुँदैन । यसलाई पराजित नगरेसम्म मैदानबाट हट्नु हुँदैन ।’
उनले विश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रलाई प्रभाव पार्ने बताए ।
‘विश्वव्यापी रुपमा कोरोनाले कति क्षति गर्यो भनेर आज आँकलन गर्न सकिँदैन । यसको असर भोलि देखिन सक्छ,’ उनले भने, ‘आज कच्चा पदार्थ उत्पादन नहुँदा भोलिको आपूर्ति ब्यवस्थाम असर पर्न जान्छ । यसले समग्र विश्वको आर्थिक प्रणालीलाई नै असर पर्न जान्छ । हाम्रो निर्भरता अन्तर्रा्ष्ट्रिय बजारमा रहेकोले यसको असरमा हामीमा झनै देखिन्छ । यसले चुनौती बढेको छ ।’




प्रतिक्रिया