काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको बताएकी छन् । उनले प्रधानमन्त्री ओली राम्रोसँग् बोल्न र खान थालेको बताएकी छन् ।
‘अन्य बिरामीलाई ५ दिनमा डिस्चार्ज गर्छौं तर प्रधानमन्त्रीज्यूलाई एक साता अस्पतालमै राख्ने निर्णय गरेका छौं,’ शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दिन अन्य व्यक्ति पनि तयार हुनुहन्थ्यो तर सबै जाँच गर्दा समीक्षाजीको मिलेकाले उनकै लिइयो ।’
प्रधानमन्त्री डिस्चार्ज भएको एक सातापछि काम थाल्न सक्ने उनको भनाइ छ । शाहले मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई अमेरिका, सिंगापुर र भारत लैजाने कुरा आए पनि नेपालमै गरेको उनले बताइन् ।
‘भारतबाट आएका तीन चिकित्सकहरू प्रधानमन्त्रीले नभएर मैले आफैं बोलाएकी हुँ । मेरो केवल १४ वर्षको अनुभवमात्र हो । तर, भारतबाट बोलाएका चिकित्सक करिब ४० वर्षको अनुभव भएका हुनुहुन्छ,’ उनले भनिन्, ‘मैले प्रधानमन्त्रीज्यूलाई उपचार गर्न थालेको ६ वर्ष भयो भने पहिला प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण गर्दा कुन औषधी चलाइएको थियो त्यो समयमा स्वास्थ्य कस्तो थियो मलाई थाहा थिएन ।’
प्रधानमन्त्रीले नेपालमा नै प्रत्यारोपण गर्ने निर्णयको उनले प्रशंसा गरिन् । प्रधानमन्त्री आफैँले नेपालमा गर्ने डिसिजन गरेको उनको भनाइ थियो ।
‘नेपालमा नै प्रत्यारोपण गराउन सक्ने सुझाव भने दिएका हौं । तर, यही गर्ने भन्ने डिसिजन उहाँले नै गर्नुभएको हो । पहिले ग्राण्डीमा गराउने कि भन्ने कुरा पनि भएको थियो । तर यहीँ गर्दा पनि सहज होस् भन्ने सुझाव दिएँ,’ उनले भनिन् ।




प्रतिक्रिया