काठमाडाैं – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी विगत एक महिनादेखि सुनसान छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नाकाबाट हुने आवतजावत विगत एक महिनादेखि बन्द गरिएको हो ।
नाकामा नेपाल र चीन दुवैतर्फका गेट खुला छन् । तर मानिस तथा सवारीसाधनको आवतजावत भने ठप्प छ । रसुवागढी नाका हुँदै चीनको केरुङ सामान लिन हिँडेका सवारीसाधन पनि नाकामै रोकिएका छन् । अहिले नाकामा ड्युटीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्रै भेटिन्छन् । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि केरुङमा काम गर्न पुगेका नेपाली पनि घर फर्किसकेका छन् ।
चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि रसुवागढीबाट हुने दुई देशबीचको आर्थिक कारोबार ठप्प भएको छ । सुरुमा चिनियाँ पक्षले १५ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको थियो । तर, एक महिना बितिसक्दा पनि नाका ठप्प छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेसँगै नेपाली पक्षले पनि नाकामा कडाइ गरेको छ । नाका कहिले खुल्छ कुनै ठेगान छैन ।
रसुवागढी नाकामा रहेको हेल्थ डेस्क व्यवस्थित बनाएपछि मात्र नाका सञ्चालनमा ल्याइने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘नाकामा हेल्थ डेस्क व्यवस्थित बनाउन पूर्वाधार निर्माण हुँदै छ,’ उनले भने, ‘हेल्थ डेस्कबाट हुने चेकजाँच व्यवस्थित बनेपछि मात्र नाका सञ्चालनमा आउँछ । तत्काल नाका खुल्दैन ।’
हेल्थ डेस्क अहिले टेन्ट र अस्थायी टहरामा सञ्चालित छ । हेल्थ डेस्कलाई व्यवस्थित बनाउन एउटा हलसहित दुईकोठे प्रि–फ्याब भवन निर्माणको काम बिहीबारबाट सुरु गरिएको सिडिओ भण्डारीले जानकारी दिए । भवन निर्माणका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय रसुवालाई ३९ लाख ५० हजार बजेट पठाइसकेको छ ।यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।




प्रतिक्रिया