काठमाडौं – २०७७ फागुन दोस्रो हप्ता पार्टी महाधिवेशन गर्ने निर्णय गरिसक्दा नेपाली कांग्रेस विवादको दलदलमा फसेको छ । महाधिवेशनको सैद्धान्तिक बहस, राजनीतिक मुद्दा र सांगठनिक सुधारमा केन्द्रित हुनुपर्ने पार्टीका नेता गुटगत संघर्षमा अग्रसर भएका छन् ।
कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह अस्तित्वमा छन् । सभापति देउवाले केन्द्रीय कमिटीमा बहुमतबाट निर्णय गराउँछन् भने पौडेल समूहले छुट्टै भेला गरेर बहुमतको निर्णयलाई चुनौती दिँदै आएका छन् ।
पछिल्लो पटक विभागका संयोजक चयन र आमन्त्रिक केन्द्रीय सदस्यको मनोनयनप्रति पौडेल समूहले असन्तुष्टि जनाउँदै छुट्टै भेला गरेको छ । केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा गत बुधवार भएको पौडेल समूहको भेलाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
सभापति देउवाले विभिन्न विभागका संयोजक र आमन्त्रिक केन्द्रीय सदस्य मनोनित गरेपछि पौडेल समूह आक्रोशित भएको थियो । महाधिवेशनको मिति तोकेर आचारसंहिता लागू भएको अवस्थामा विभागका पदाधिकारी चयन हुनु गलत भएको पौडेल समूहको निष्कर्ष छ । पौडेल समूहले गरेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, जिल्ला सभापति र उपसभापतिहरूको संयुक्त भेलाले प्रशिक्षण बहिष्कार गर्ने निर्णय गरेको छ ।
‘महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा महाधिवेशन भाँड्ने खेल भइरहेको छ,’ पौडेलले भेलामा भने, ‘यस्ता कुराको हामीले विरोध गर्नुपर्छ, प्रतिवाद गर्नुपर्छ ।’ पौडेलको भेलामा महामन्त्री शशांक कोइरालाले उपसभापतिको प्रशिक्षणले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पर्ने भन्दै सहभागी नहुन आग्रह गरे । ‘प्रशिक्षणले महाधिवेशन प्रभावित गर्छ । उपसभापतिहरूलाई नजान आग्रह गर्छु,’ कोइरालाले भने ।
मिति तोकिनुअघि पनि विवाद
पार्टी महाधिवेशनको मिति तोक्न माग गर्दै यसअघि समेत पौडेल समूहले केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो । मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय समितिको बैठक बहिष्कार गरिएको थियो । पौडेल समूहको दबाब बढेपछि सभापति देउवाले बहुमतबाट महाधिवेशनको मिति घोषणा लगायतका निर्णय गरेका थिए ।
महाधिवेशनको मिति घोषणा भएपछि देउवा एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप आक्रोशित भयो । पटक–पटकको छलफल र वार्तापछि महाधिवेशन कार्यतालिका संशोधनको सहमति भएर तत्कालको विवाद समाधान भएपनि फेरि गुटगत संघर्ष सुरू भएको छ ।
विवादको जड विभाग र केन्द्रीय सदस्य
सभापति देउवाले ४७ विभागमध्ये २० विभाग प्रमुख गठन गर्दै दुई केन्द्रीय सदस्यसहित एक दर्जन आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएपछि पौडेल समूह फेरि चिढिएको छ । प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिले विधानअनुसार नै विभाग गठन गरेको र बाँकी विभाग पनि सहमतिमै गठन हुने बताउँछन् । तर पौडेल समूह आचारसंहिता लागेको बेला मनोनयन गर्न नहुने तर्क गर्छ ।
प्रवक्ता शर्माले पौडेल समूहलाई समेत सहमतिमा ल्याएर बाँकी विभाग गठन गरिने बताए । ‘सबै विभाग गठन गरिएका छैनन्, बाँकी विभागमा सबै पक्षलाई मिलाएर लैजाने भन्ने नेतृत्वको मनसाय छ,’ प्रवक्ता शर्माले भने, ‘विमतिका विषयलाई सहमतिमै टुंग्याउने हो । यसअघि पनि पार्टीभित्र विवाद देखिएको थियो, सहमतिमै सबै विषय टुंग्याइएको हो । अहिले पनि सहमतिको प्रयास भइरहेको छ ।’ पौडेल समूह अन्तिममा सहमतिमा आउनेमा संस्थापक समूह ढुक्क देखिएको छ ।
पार्टीभित्रको विवादका कारण पार्टी महाधिवेशन तोकिएकै मितिमा हुनेमा समेत शंका गर्न थालिएको छ । महिनैपिच्छे कांग्रेसमा नयाँ–नयाँ विषयमा विवाद सतहमा आउने गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिमा निर्णय भएपछि त्यसको विरोधमा पौडेल समूहले चाक्सीबारीमा छुट्टै भेला गर्ने अभ्यास दोहोरिँदै गएको छ ।
आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने प्रयासस्वरुप पौडेल समूहले छुट्टै समूहको अभ्यास गरिरहेको छ भने देउवा समूह नेतृत्वमा कायमै रहने प्रयासमा छ । नेतृत्व, भागबण्डा र पदीय स्वार्थले कांग्रेसभित्र भइरहेको गुटगत अभ्यासले पार्टीलाई भने कमजोर बनाइरहेको छ । पार्टीभित्रको विवादमा अल्झिएको कांग्रेसले प्रतिपक्षी भूमिका समेत निर्वाह गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।




प्रतिक्रिया