काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सरकारले कोरोना भाइरस नियन्त्रणका उपाय अवलम्बन नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कोरोना भाइरससँग लड्न सरकारले कस्तो उपाय अवलम्बन गरेको छ भन्दै प्रश्न गरेकी छन् ।
‘कोरोना रोकथामका लागि सरकारले के कस्तो उपाय अवलम्बन गरेको छ ? डाक्टरहरु तयारी अवस्थामा छन् कि छैनन् ? स्वास्थ्य उपकरण छन् कि छैनन्’, उनले भनिन्, ‘कोरोनाबाट बच्न मास्क कति छन् ? एउटा व्यक्तिलाई सांसद बनाउन अनेकौं बैठक गर्ने सरकारले कोरोनासँग लड्न के कस्तो तयारी छ ? औषधिको अवस्था के छ ?’
उनले कोरोना नियन्त्रणका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग समन्वय नगरेको बताइन् । उनले भाइरससँग जुध्नका लागि सरकारले वक्तव्य मात्र निकालेको भन्दै आपत्ति जनाएकी छन् । उनले कोरोना भाइरससँग लड्न नेकपाका कार्यकर्ताले पनि नसक्ने भन्दै नेकपा कार्यकर्तालाई अरिंगालको संज्ञा दिइन् ।
‘भाइरसबाट बच्न सरकारले पशुपतिनाथले सबैको रक्षा गरुन भनेर हो कि भाइरसले भिसा लिएको छैन् भनेर हो कि वा अरिंगालले लड्न सक्छन् भनेर हो ?’, उनले सुझाव दिँदै भनिन्, ‘सरकार ! भाइरसलाई न भिसा चाहिन्छ न अरिंगालले लड्न सक्छन् । ’
उनले चीनसँग सीमा जोडिएको हुम्ला कोरोना भाइरसको जोखिममा रहेको भन्दै सरकारले आवश्यक पहल गर्नुपर्ने माग गरेकी छन् ।




प्रतिक्रिया