कोरोना भाइरस ‘नपड्किएको एम्बुस’ जस्ताे, होटललाई पनि क्वारेन्टाइन बनाउन सकिन्छः मन्त्री ढकाल

कोरोना भाइरस ‘नपड्किएको एम्बुस’ जस्ताे, होटललाई पनि क्वारेन्टाइन बनाउन सकिन्छः मन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई एम्बुससँग तुलना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै मन्त्री ढकालले कोरोना भाइरस हाम्रै घर भित्र वा छेउछाउमा हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह गरे ।

मन्त्री ढकालले भने, ‘कोरोना भाइरस कस्तो हो भने यो नपड्किएको एम्बुस जस्तो । हाम्रै घर भित्र पनि हुनसक्छ । हाम्रो छेउछाउमा पनि हुन सक्छ । नपड्किँदासम्म केही होइन जस्तो ।’

मन्त्री ढकालले सरकारले ३ चरणको रणनीति तय गरी काम गरिरहेको बताएका हुन् ।

पहिला त कोरोना भाइरसलाई प्रवेश गर्नबाट नै रोक्ने, दोस्रोमा प्रवेश गरिहालेमा यसलाई फैलिन नदिने र उपचार गर्ने तथा तेस्रोमा जटिल अवस्था आएमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हिसाबले रणनीति तय गरी सरकारले काम गरिरहेको उनको दाबी छ ।

कोरोना भित्रिन नदिनका लागि प्रभावित देशहरूबाट नेपाल भित्रिने सबैलाई चेकजाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था गरिएको मन्त्री ढकालले बताए ।

कोरोना भाइसरविरुद्ध लड्नका लागि सरकारले सबैसँग हातोमाले गर्ने उनको भनाइ छ ।

जुनसुकै बेलापनि कोरोनाको संक्रमण देखिनसक्ने खतरालाई मध्यनजर गर्दै सरकारले ७ वटा अस्पताललाई हब अस्पतालको रूपमा तयारी अवस्थामा राखेको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी पनि उनले दिए ।

देशभरका अन्य अस्पतालमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

एक्कासि कोरोनाको संक्रमण फैलिएको खण्डमा होटल र सार्वजनिक स्थानहरूलाई समेत क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सकिने मन्त्री ढकालले बताए ।

‘इरानको जस्तो थाहा नपाई भित्रियो भने स्वास्थ्य इमर्जेन्सी घोषणा गरेर पायकमा रहेका होटल र सार्वजनिक स्थानलाई पनि त्यो ढंगले विस्तार गर्नुपर्ने अवस्था आउनुपर्छ भन्ने कुरामा मेरो ध्यान गएको छ,’ मन्त्री ढकालले भने ।

भारतले केही औषधिहरूको निर्यातमा रोक लगाएको सम्बन्धमा मन्त्री ढकालले त्यसलाई खुलाउनका लागि कूटनीतिक पहल भएको र भारतका तर्फबाट ती औषधि नरोक्ने आश्वासन प्राप्त भएको जानकारी पनि दिए ।

कोरोनाका सम्बन्धमा अहिले २ किसिमका अति देखिएको भन्दै मन्त्री ढकालले त्यसबाट समाजलाई बचाउनुपर्ने बताए ।

‘एउटा यो केही पनि होइन भनेर उपेक्षा गर्ने र अर्को सबै सन्त्रास नै यही भइसक्यो भन्ने दुईवटै अतिबाट समाजलाई बचाउनुपर्छ,’ मन्त्री ढकालले भने ।