कोरोनाबाट डराउने होइन, व्यवस्थापनको उपाय खोज्न आवश्यक छः विद्यासुन्दर शाक्य

कोरोनाबाट डराउने होइन, व्यवस्थापनको उपाय खोज्न आवश्यक छः विद्यासुन्दर शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट डराउनेभन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

कामपाले आज यहाँ आयोजना गरेको कोरोना र डेङ्गु रोगको महामारीसम्बन्धी बृहत् जनचेतना कार्यक्रममा प्रमुख शाक्यले समस्याको सहज समाधान गर्नेतिर लाग्नका लागि सबैलाई आग्रह गरे ।

कोरोना भाइरसबारे सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी सन्त्रास फैलिएको र सही सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएकाले बुझेर मात्र सूचना प्रवाह गर्न पनि प्रमुख शाक्यले सबैलाई आग्रह गरे।

प्रमुख शाक्यले कामपाले ३२ वटै वडामा अब जनचेतनामूलक अभियान सञ्चालनको शुरुआत गरेको जानकारी दिँदै सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नुपर्नेमा जोड दिए । उनले गर्मी बढ्दै गएपछि अब विस्तारै डेङ्गुको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गरे ।

कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले शहरी स्वास्थ्य क्लिनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगर लागिपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाबारे सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले अहिलेसम्म ५०० को ¥याल परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती बिरामीसमेत अहिले ठिक भएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।