काठमाडौँ- कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ ।
कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ ।
अनुगमनका क्रममा अनुचित व्यापारिक कारोवार (बढी मूल्यमा सामान बिक्री वितरण) गरेको भेटिएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) को कसुरमा ३९ (१) (ख) अनुसार कारवाही गरिएको छ । बिहीबार बजार अनुगमनका क्रममा बढी मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री गरेको भेटेपछि वीर अस्पतालमा रहेको आयुष फार्मेसी र क्षेत्रपाटीमा रहेको आइज्याक फार्मेसीलाई रु दुई दुई लाख जरिवाना गरिएको छ ।
त्यस्तै मङ्गलबार र बुधबारको बजार अनुगमनका क्रममा कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई रु दुई लाख ५० हजार र क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया