काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् ।
आजको दिन (अर्थात मार्च ८) विश्वभरका महिला दिदी–बहिनीहरुको लागि मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको बताउँदै उपराष्ट्रपति पुनले विश्वभरका श्रमिक महिलाहरुको महान् उत्सव ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवम् राष्ट्रको निरन्तर समुन्नतीको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘यस शुभ अवसरले सम्पूर्ण नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गर्दछु ।’
उपराष्ट्रपति पुनले जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुष सरह समान अवसर पाउनु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘विभिन्न कालखण्डका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र वलिदानको गौरवपूर्ण संघर्षबाट स्थापित नयाँ संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ ।
संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुसीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागीता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।’
महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको पनि उनले बताएका छन् ।
मुलुकको आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारको लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्दै ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा लिएको शुभकामना सन्देशमा उल्लेख छ ।




प्रतिक्रिया