दलित भन्दै कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ

दलित भन्दै कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीको घरबाट आफूलाई दलित भएकै कारण निकालेको भन्दै दीपा नेपालीले जाहेरी दिएकी थिइन् । बिडारी सरकारी कर्मचारी हुन् ।

बिहीबार जाहेरी परेपछि आइतबार श्रीकृष्णकी श्रीमती राधिकालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो । श्रीकृष्ण मंगलबार प्रहरीमा आफैं उपस्थित भएका थिए। घरधनी बिडारी दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख थिए ।

सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषी ढुंगानालाई बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका इन्चार्ज प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

चारैजनाविरुद्ध गत बिहीबार दीपाले जातीय भेदभाव तथा छुवाछुतको कसुरमा उजुरी दर्ता गरेकी थिइन् ।

उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् । उक्त घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपाले जानकारी दिईन् ।

उनले भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिनुभयो ।’