काठमाडौं – पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको आज अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उनको निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री थिए ।
उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए । विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्र्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए । यस्तै उनी पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भइसकेका थिए ।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।




प्रतिक्रिया