शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन

शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीले आवेदन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो शैक्षिक सत्रका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ विषयमा स्वयंसेवक शिक्षक पठाउने निर्णयअनुसार ती शिक्षकले आवेदन दिएका हुन्।

आवेदन दिने शिक्षकको संख्या १३ हजार ३ सय ५४ जना रहेका छन्। शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताउनुभयो।

उहाँका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ। कतिपयले दुईवटा स्थानीय तहमा आवेदन फाराम भरेको भेटिएको बताउँदै उपमहानिर्देशक न्यौपानेले अहिले ती शिक्षकको एक पालिकामा मात्र नाम सिफारिस गर्ने काम भइरहेको बताउनुभयो।

समितिले आवेदकको नाम छनोट गरी स्थानीय तहको समन्वयमा स्वयंसेवक शिक्षक छनोट गर्नेछ। एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन्। केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ बजेट व्यवस्थापन गर्न उक्त संख्यामा स्वयंसेवक शिक्षक छनोट गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयले पारित गरेको कार्यविधिको आधारमा शिक्षकलाई काममा खटाइनेछ।

केन्द्रले ६ सय ४८ स्थानीय तहका लागि शिक्षक छनोट गर्न लागेको हो। उपत्यकाका १८ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र टोखा नगरपालिकामा मात्र स्वयंसेवक शिक्षक खटाइने भएको छ। यो समाचार आजको समाचारपत्रमा छ ।