सभापति देउवाद्वारा शेर्माको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा शेर्माको निधनप्रति दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू)को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज एक शोक वक्तव्य जारी गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेता शेर्माको निधनले अत्यन्त दुःखित र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले शेर्माले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा काँग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । साथै सभापति देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

शेर्मा विसं २०३६ को जनमत सङ्ग्रहमा बहुदल प्रचारप्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति हुनुहुन्थ्यो । उहाँ विसं २०४८ असार १२ गते राष्ट्रियसभाको सांसद भएका थिए ।

पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति रहेका शेर्मा दुईपटक काँग्रेस केन्द्रीय सदस्य भएका थिए ।

विसं २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा छ महिना जेल जीवन बिताएका स्व शेर्मा २०४६ मा प्रजातन्त्र बहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेलजीवन बिताएको पार्टी कार्यालयले जनाएको छ ।

पाँचथरको साराङडाँडा—७ निगालेमा विसं २००० असोज १२ गते जन्मिएका शेर्माका पत्नी, दुई छोरा र पाँच छोरी छन् । उनको पार्थिव शरीर शुक्रबार बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।