काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली मुलुकका नेताहरूले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणविरुद्ध एक जुट हुन साझा रणनीति बनाउनेबारे छलफल गर्ने भएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का राष्ट्र/सरकार प्रमुखबीच आइतबार साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको हो ।
उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्र अस्पतालबाट निवास फर्किएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताउँदै आफ्ना नागरिकलाई भिडिओ कन्फरेन्सका माध्यमबाट स्वस्थ राख्नेबारे छलफल गर्न सकिने बताएका थिए ।
‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ । हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।’ भुटान, पाकिस्तान लगायतका राष्ट्रहरुले मोदीको प्रस्ताव स्वीकार्य भएको प्रतिक्रिया दिएका थिए ।




प्रतिक्रिया